२६ बैशाख २०८१, बुधबार

नेपालमा २२ जनामा कालोढुसी सङ्क्रमण पुष्टि, औषधि अभाव

60deb73b7d01b muicomicosis

कोभिड सङ्क्रमण पुष्टि भएका बिरामीमा देखिएको म्युकर माइकोसिस (कालो ढुसी) का सङ्क्रमितहरु नेपालमा अहिलेसम्म २२ जना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीका अनुसार अहिले नेपालका विभिन्न जिल्लामा गरी २२ जनामा सङ्क्रमण पुष्टि भएको बताउनुभएको छ । अहिले कुन अस्पतालमा कति छन् भन्ने यकिन भने भइनसकेको उहाँले बताउनुभएको छ ।

यता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अहिलेसम्म म्युकर माइकोसिसका १५ जना बिरामी भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । जसमध्ये अहिले आठ जना उपचाररत छन् भने एक जनाको मृत्यु भएको र बाँकी डिस्चार्ज भएको अस्पतालका डा. राजेन्द्र प्रधानाङ्गले बताउनुभएको छ ।
डिस्चार्ज भएकामध्ये केहीको आँखाको शल्यक्रिया गरेर घर पठाइएको छ भने केहीको शल्यक्रिया गर्न नै नमिलेका कारण घर पठाउनुपरेको उहाँले बताउनुभएको छ ।

शल्यक्रिया गरेर घर फिर्ता भएकाहरुमा पूर्णतया निको हुने सम्भावना कम नै रहेको उहाँको भनाइ छ । “यो शल्यक्रिया गरेपछि निको हुन्छ नै भन्ने हुँदैन, हामीले आँखा वरिपरि जमेको रगत सफा गरेर हेर्छौ त्यसपछि मात्र शल्यक्रिया गर्ने नगर्ने निधो गर्छौ । हामीकहाँ आएका अधिकांश बिरामीहरु धेरै जटिलता भएपछि मात्र आएको कारणले पनि शल्यक्रिया गर्न नै समस्या भैरहेको छ ” उहाँले भन्नुभयो ।

कालो ढुसीको सङ्क्रमण भएको शङ्का लागेपछि नै अस्पतालमा जान उहाँले सुझाव दिनुभएको छ ।

कालो ढुसीका बिरामीका लागि दिइने एम्फोटेरिसिन बी नामको औषधिको अहिले अभाव रहेको उहाँले बताउनुभएको छ । यो औषधि कालाजारका बिरामीका लागि प्रयोग गरिँदै आएको भए पनि पछिल्लो समय कालो ढुसीका बिरामीका लागि पनि प्रयोग गरिँदै आइएको थियो ।
एम्फोटेरिसिन बी औषधिको अभाव रहेका कारण अहिले विकल्पका रुपमा पेसाकोनाजोल औषधिको प्रयोग गरिएको डा. प्रधानाङ्गले बताउनुभयो ।

कालोढुसीको सङ्क्रमण भएकालाई प्रयोग गरिँदै आएको कालाजारको एम्फोटेरिसिन बी नामको औषधि अहिले सकिएको र मन्त्रालय यो औषधि किन्ने प्रक्रियामै रहेको मन्त्रालयका सूचना अधिकारी डा.समीर अधिकारीले बताउनुभयो ।