७ बैशाख २०८१, शुक्रबार

जेठ २ को सङ्गठनात्मक हैसियतमा एमाले केन्द्रीय कमिटी बैठक आज

Uml New office 1024x538 1

नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटी बैठक शुक्रबार बस्दैछ । एमालेको २०७५ जेठ २ गतेको सङ्गठनात्मक हैसियतमा सो बैठक हुन लागेको हो । एमालेभित्रको विवाद समाधानका लागि एमालेको संस्थापन पक्ष एमालेको पूर्ववत् साङ्गठनिक अवस्थामा फर्कन सहमत भएको हो । बुधबार बसेको एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकले आयोजक कमिटीलाई एमालेको पूर्ववत् केन्द्रीय कमिटीमा रूपान्तरण गरेको थियो ।

पार्टीको सो निर्णयपछि एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी तथा पदाधिकारी नै अब पूर्ण रूपमा क्रियाशील हुने भनिए पनि माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठकमा भाग नलिने अडान राखेका छन् ।

नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरूको बिहीबार सम्पन्न बैठकले केन्द्रीय कमिटी बैठक अवैध भएको भन्दै बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो । सो समूहका नेता घनश्याम भुसालले बैठकमा सहभागी नहुने निर्णय गरेको जानकारी दिनुभयो ।

यद्यपि, सहमतिका लागि दुवै पक्ष बेलुका अबेरसम्म छलफलमा बसेका थिए । सो विषयमा नेता सुवास नेम्वाङले छलफल जारी रहेको तर कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । बैठकका लागि सबै केन्द्रीय सदस्यलाई पत्राचारसमेत गरिएको जनाइएको छ ।