१५ बैशाख २०८१, शनिबार

चितवन आसपासका नदीमा बहाव बढ्यो, सौराहाका होटल डुबानमा

60dd5801e903d shaura

अविरल वर्षाका कारण चितवनको नदी तथा खोलाहरुको सतह वढ्दा नदी तटीय क्षेत्रका बस्ती तथा होटलहरुमा जोखिम बढेको छ । सबैभन्दा ठूलो जोखिम पर्यटकीय क्षेत्र सौराहामा छ भने सौराहा नजिकैको बाघमाराका २० घर अहिले डुबानमा छन् । बुढी राप्ती खोलाले डुवानमा परेका वाघमाराका बासिन्दाको उद्धार भैसकेको जनाइएको छ ।

सौराहा हुँदै बगेका राप्ती, बुढी राप्ती, ढुँग्रे लगायतका नदी तथा खोलामा पानीको सहतह बढ्दा सौराहामा जोखिम बढेको हो । खोलाहरुमा पानीको सतह बढ्दै गएसँगै सौराहाका होटलहरुल भुइँतलामा रहेका समान अहिले सुरक्षित गर्नेतर्फ लागेका क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलियाले बताउनुभयो ।

”अहिले हामी हाम्रा समान डुबानबाट कसरी वचाउन सकिन्छ भन्ने सतर्कता अपनाउँदै समानहरु सुरक्षित ठाउँमा सार्ने काम गरिरहेका छौ”, उहाँले भन्नुभयो, “यदि डुवान भै हालेमा उद्धारकालागि नेपाली सेनाले डुङ्गा सहितकोे जनशक्ति तयारी अवस्थामा राखेको छ ।”

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यस्तै राप्ती नदी तटमा रहेका मेघौली, जगतपुर र पटिहानीका होटलहरु पनि अहिले डुवानको जोखिममा छन् । नारायणी नदी तटमा रहेका नाराणगढ, गैडाकोटदेखि शिवघाट, मेघौलीसम्मका नदी तटीय क्षेत्रका होटल तथा बस्तीहरु पनि डुबानको जोखिममा छन् ।

चितवनमा पछिल्लो तीनदिन दखि अविरल पानी परिरहेको छ । रत्ननगर—८, बाघमारामा सुकुम्बासी बस्तीमा बुढी राप्तिखोला पस्दा त्यहाँ फसेका सबैको उद्धार गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी उपरिक्षक इन्द्र रानाले बताउनुभयो ।

यस्तै, रत्ननगर—१६ स्थित कयर खोलामा आएको बाढीमा बगेको स्कुटर र महिलाको स्थानीयले उद्धार गरेका छन् ।

अहिलो पूर्वी चितवनका प्रायः सबै खोलाको सतह बढेकाले जोखिम वढी छ । पूर्व पश्चिम राजमार्ग पनि अहिले ठाँडा खोलामा आएका बाढीका कारण अवरुद्ध भएको स्थानीयले जनाएका छन् । पूर्वी चितवनमा रहेका कयर, लदरी लगायतका खोलाको सतह वढ्दा रत्ननगर, खैरहानी लगायतका बस्तीह पनि डुबानको जोखिममा छन् ।

भरतपुर महानगर पालिकाकै वडा नम्वर २ मा रहेको तरकारी तथा फलफूल मण्डी पनि पुङ्गी खोलाको डुबानमा परेको छ ।

उता, पहिरो खस्दा अवरुद्ध नारायणगढ मुग्लिन सडक खुला गर्न वर्षाले समस्या परेको छ । गएरातीवाट अवरुद्ध भएको सडक खुला गर्न उपकरण सहितका प्राविधिक टोली परिचालन भए पनि वर्षादले पहिरो झरिरहेकाले सडक तत्काल खुला गर्न सकिने अवस्था छैन ।

इच्छाकामना गाउपालिका वडा नम्वर ६ मा पर्ने पाँच किलोमा सवै भन्दा ठूलो पहिरो छ भने अन्य ठाउँ ठाउँमा पहिरो खस्दा गए राती २ः१० वजेवाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

“अविरल वर्षाका कारण गएराती २ः१० बजेदेखि नारायणगढ मुग्लिन सडक अवरुद्ध छ”, थापाले भन्नुभयो, “वर्षा लगातार जारी रहेकाले पनि पहिरो झरि रहँदा अहिले सडक सफा गर्न कठिनाइ भैरहेको छ ।” पाँच किलो, चारकिलो लगायत अन्य विभिन्न स्थानमा अहिले पहिरो झर्ने क्रम जारी छ । यद्यपि डोजर तथा लोडर प्रयोग गरेर पहिरो हटाउने प्रयास भने जारी रहेको उहाँले जनाउनुभयो ।