
चितवनमा संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गरेका छन् । भरतपुरका विभिन्न ठाउँमा प्रदर्शन हुँदा प्रहरीले हस्तक्षेप समेत गरेको छ ।
वीरेन्द्र बहुमुखी क्याम्पस चोकमा भएको प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि प्रहरी र विद्यार्थी नेताबीच केहीबेर झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले लाठी चार्ज, एक राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । अवस्था जटिल बनेपछि प्रहरीले केही राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । सो क्रममा विद्यार्थी नेताहरु अनमोल अधिकारी, अंकित दवाडी, सुशन पौडेललगायतका घाइते भएका छन् । विद्यार्थी नेता अनमोल अधिकारीको प्रहरीको कुटाइबाट हात भाचिएको छ ।
उनको अहिले श्री पुष्पाञ्जली अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते नेता अधिकारीले राँके जुलुसको क्रममा प्रहरीले हस्तक्षेप गरेर आफूमाथि निर्घात कुटपिट गरेको आरोप लगाए ।
यस्तै केही प्रहीहरु समेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले जानकारी दिए ।