१३ बैशाख २०८१, बिहीबार

उत्तर कोरियामा कोरोना संक्रमित बिरामीलाई गोली हानी हत्या !

KIm North Korea Corona

चीनको छिमेकी मुलुक उत्तर कोरिया कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरेका छन् । तर केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् ।

उत्तर कोरियाले केही दिन अगाडि क्वारेनटाइनमा रहेका एक अधिकारीको गोली हानी हत्या गरेको रिपोर्ट बाहिर आएको थियो । क्वारेनटाइनमा रहेका बखत उनले पब्लिक बाथरुमको प्रयोग गरेको भन्दै उनलाई गोली हानिएको बताइएको थियो ।

उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए । दक्षिण कोरियाली पत्रिका कोसन इल्बोले सिनुइजु सहरमा दुईजना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको थियो ।

उत्तर कोरियाका शासक किम जोङ उनले नै उनलाई गोली हान्न आदेश दिएको बताइएको छ । एजेन्सी