७ बैशाख २०८१, शुक्रबार

काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ : सहमहामन्त्री डा. महत

prakash saran mahat

नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले काँग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले सोमबार ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले कांग्रेसको स्थापना लोकतन्त्रको रक्षाका लागि भएको बताउनुभयो ।

“संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने पार्टीले किन निर्वाचनमा कम भोट ल्यायो यसको बारेमा पार्टीभित्र समीक्षा हुनुपर्छ”, उहाँले भन्नुभयो । पार्टीले मुलुक र जनताका लागि गरेको कामको बारेमा प्रचारप्रसार गर्नु जरुरी रहेको उहाँको भनाइ थियो ।

सहमहामन्त्री डा. महतले काँग्रेसभित्र पार्टीभन्दा व्यक्ति बलियो भएको बताउनुभयो । उहाँले संविधान र कानूनको परिपालना गर्ने पार्टी काँग्रेसले कोरोना महामारी र बाढी पहिरोको चुनौतीबीच समयमा नै महाधिवेशन सम्पन्न गर्ने स्पष्ट पार्नुभयो । पार्टीभित्र सङ्गठन गर्ने शैलीमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको उहाँको भनाइ थियो । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको उहाँले बताउनुभयो ।

काँग्रेस नेता एवं संविधानसभा सदस्य राजीवविक्रम शाहीले पार्टीभित्र भएको गुट उपगुट अन्त्य नभएसम्म काँग्रेस बलियो नहुने बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेशका काँग्रेस जिल्ला सभापति र प्रदेशसभा सदस्यहरू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमका संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको बताउनुभयो । यसअघि यस्तो अभियान प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।