
स्वास्थ्य मन्त्रालयले डेंगु र कोरोनाको लक्षण एउटै हुने भएकोले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सार्वजनिक हितको सूचना जारी गर्दै सो सचेतना गराएको हो । सन्देशमा वर्षा याम सुरु भएसँगै डेंगुको जोखिम बढेको भन्दै एक्कासी ज्वरो आउने, खान रुचि नलाग्ने, थकान महसुस नहुने, मांशपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने जस्ता लक्षणहरु कोरोना र डेंगु दुवैमा समान रहेको जनाएको छ ।
सन्देशमा यस्ता लक्षणहरु देखिएमा जथाभावी औषधि सेवन नगरी चिकित्सकको सेवा र परामर्शलाई महत्व दिन अनुरोध गरिएको छ । डेंगुको जस्तै लक्षण कोरोनाको पनि भएकोले यस्ता लक्षण देखिएमा तुरुन्त आइसोलेसनमा जान भनेको छ ।
डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने संक्रमण हो । यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन । वर्षातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको पाइन्छ । लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने, लामो बाहुला भएको कपडा लगाउने, डेंगु लाग्ने लामखुट्टे अर्थात् दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने, भीडभाडमा सकभर नजाने जस्ता सतर्कता अपनाए डेंगु संक्रमणबाट बच्न सकिन्छ । त्यस्तै घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर \ पाइपलगायतमा पानी जम्न नदिने जस्ता कामहरु गर्न जरुरी छ ।