११ बैशाख २०८१, मंगलवार

विश्वकप विजेता फ्रान्सलाई हराउदै स्विट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश, एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो

france vs switzerland 3 54

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न अन्तिम १६ को खेलमा विश्वकप विजेता फ्रान्सलाई हराउँदै स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ।

युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Mbappe France miss 1024x545 1

पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परीवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो । स्विट्जरल्यान्डले पेनाल्टीमा अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फालेपछि फ्रान्सले लगातार गोल गर्दै खेलमा पकड जमायो ।

बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

France Mbappe 1024x576 1

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए । यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।

खेलको १५ औं मिनेटमा स्विट्जरल्यान्डले सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई उनले हेडरमार्फत बटम कर्नरमा गोल गरेका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले हेडरको प्रयास गर्न नसक्दा सेफेरोभिचको हेडरमा गोलरक्षक ह्युगो लोरिसको डाइभ व्यर्थ भएको थियो ।

२६ औं मिनेटमा किलीयन एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो । उक्त रिबाउन्डमा एम्बाप्पेको शक्तिशाली प्रहार पनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २९ औं मिनेटमा एड्रिएन राबिओटको प्रहार पनि बाहिरिंदा स्विट्जरल्यान्डको अग्रता जोगिएको थियो ।

३१ औं मिनेटमा ब्रील एम्बोलोको प्रहारले गोलरक्षक लोरिसलाई समस्या दिन सकेन । ४१ औं मिनेटमा कप्तान ग्रानिट झाकाको पासलाई एम्बोलोले पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो । ४२ औं मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासियो ।

दोस्रो हाफमा फ्रान्सले लेंगलेटको स्थानमा किंग्सले कोमानलाई मैदान पठाउँदै आक्रामक परिवर्तन गरेको थियो । तर ५५ औं मिनेटमा फ्रान्सका बेन्जामिन पाभार्डले जुबरलाई पेनाल्टी क्षेत्रभित्र लडाएको भन्दै भीएआरले पेनाल्टी दियो । रिकार्डो रोड्रीग्वेजले प्रहार गरेको पेनाल्टीलाई कप्तान लोरिसले विफल पार्दै फ्रान्सलाई खेलमा कायम राखे । रोड्रीग्वेजले गरेको प्रहारलाई लोरिसले आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।

पेनाल्टीमा चुकेको २ मिनेट नबित्दै स्विट्जरल्यान्डले गोल खान पुग्यो । करीम बेन्जेमाले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण र फिनिसको नमुना प्रस्तुत गर्दै फ्रान्सलाई बराबरीमा ल्याएका थिए । उनले किलीयन एमबाप्पेले आफ्नो पछाडीबाट दिएको पासलाई उत्कृष्ट ढंगले पहिलो टचमा नियन्त्रण गर्दै दोस्रो टचमा गोलरक्षकलाई बिट गरेका थिए ।

बराबरी गरेको दुई मिनेटपछि बेन्जेमाले नै फ्रान्सलाई अग्रता दिलाए । एमबाप्पेको पासमा एन्टोइन ग्रिजमनले ६ यार्ड बक्स नजिकबाट गोलरक्षकलाई चिप गरेका थिए । उक्त चिपलाई बेन्जेमाले गोललाइन नजिकबाट हेडरमार्फत गोलमा परिणत गर्दै फ्रान्सलाई अग्रता दिलाए । अघिल्लो गोलमा देखिएको एमबाप्पे, बेन्जेमा र ग्रिजमन बीचको साझेदारी यस गोलमा पनि निर्णायक बनेको थियो ।

६६ औं मिनेटमा सेफेरोभिचले बराबरी गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेनन् । फ्रिकिकमा उनले आफ्नो डिफेन्स मार्करलाई पछि पार्दै वन भर्सेस वनको स्थितिमा बललाई प्रहार गर्नबाट चुके । ७५ औं मिनेटमा पल पोग्बाले विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । पेनाल्टी क्षेत्रको बाहिरबाट पोग्बाले गरेको प्रहार टप कर्नरमा गोल भएको थियो । गोलरक्षक यान सोमरले डाइभ दिएपनि उक्त बलसम्म पुग्न सकेनन् ।

८१ औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै स्विस टोली खेलमा फर्कने संकेत दिए । केभिन एम्बाबुको क्रसमा सेफेरोभिचले हेडरमार्फत गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याएका थिए । त्यसको २ मिनेटमा नै मारियो गाभ्रनोभिचले गोल गरेपनि रेफ्रीले उनी अफसाइड पोजिसनमा रहेका कारण त्यसलाई मान्यता दिएनन् ।

AFP 9DF3X9

तर निर्धारित समयको अन्तिम मिनेटमा स्विट्जरल्यान्डले गाभ्रनोभिचको गोलमा खेल बराबर गर्न सफल रहयो । ग्रानिट झाकाको पासमा उनले प्रेस्नेल किम्पेम्बेलाई छक्याउँदै गरेको प्रहारलाई लोरिसले डाइभ दिएपनि बचाउन सकेनन् । अर्को तर्फ इन्ज्युरी समयको चौथो मिनेटमा कोमानले गरेको प्रहार क्रसबारमा लागेर फर्कंदा फ्रान्स जितबाट बन्चित भएको थियो ।

९५ औं मिनेटमा पाभार्डको प्रहारलाई गोलरक्षक सोमरले विफल पार्दै खेल बराबरीमा कायम राखे । ९८ औं मिनेटमा कोमनको प्रहार पोस्टको बाहिरि भागमा लाग्दा फ्रान्स अघि बढ्न सकेन । १ सय ९ औं मिनेटमा एमबाप्पेले अवसर सदुपयोग गर्न सकेनन् । पोग्बाको पासबाट वन भर्सेस वनको स्थितिमा उनको खराब प्रहारले गोलरक्षकलाई कुनै समस्या दिन सकेन ।

१ सय १३ औं मिनेटमा पोग्बाको पासमा मार्कस थुरामले दिएको क्रसलाई जिरुडले पोस्टतर्फ प्रहार गरेपनि एमबाप्पेलाई लाग्दै बल बाहिरिएको थियो । १ सय १९ औं मिनेटमा जिरुडको हेडरलाई सोम्मरले बचाउँदै खेल बराबरीमा नै राखे । त्यसपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

क्वाटरफाइनलमा स्वीजरल्याण्डले स्पेनको सामना गर्नेछ।

Yann Sommer 1024x618 1