१५ चैत्र २०८०, बिहीबार

प्रचण्डका पुच्छर माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : ओली

kp oli 1

नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘तपाईंहरूले दुई/तीन दिन अघिदेखि सुन्नुभयो होला । मैले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ अरे । म यो मान्दिनँ अरे । मेरो शेरबहादुर देउवाप्रति यति निष्ठा छ, देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । देशलाई धोका दिन्छु । जनतालाई धोका दिन्छु । तर, देउवालाई धोका दिन सक्दिनँ । यसो भनिरहेका छन् ।’

यसअघि आफूले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् भनेको स्मरण गर्दै उनले भने, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो ! मलाई बहुला कुकुरले टोकेको छ र ?

उनले अघि भने, ‘अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

प्रधानमन्त्री ओलीले नेपाललाई ‘लाजशरम पचेको मान्छे’को संज्ञा दिए । उनले भने, ‘यतिसम्म पनि मान्छे पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, कम्युनिष्ट आन्दोलन सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने हिँड्ने, अनि नेकपा एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजशरम पचेको मान्छे ।

उनले केही मानिसहरुमा विचार उद्देश्य हराएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको मार्गदर्शन छोडेर व्यक्तिगत अहंकार कुण्ठामा रमाउने गरेको आरोप लगाए । ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।