७ बैशाख २०८१, शुक्रबार

साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश

thorgan hazard 1024x569 1

युईएफए युरो २०२० अन्र्तगत नकआउट चरणमा साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्टुजामा सम्पन्न खेलमा बेल्जियमले साविक विजेता पोर्चुगलमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफमा थोर्गन हाजार्डले गरेको गोलको मदतले बेल्जियम १-० को जित हासिल गर्दै राउन्ड अफ १६ पार गर्न सफल भयो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । पहिलो हाफमा पनि केहि अवसर सिर्जना गरेको पोर्चुगलसामु बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । यस जितसँगै बेल्जियमले क्वाटरफाइनलमा इटालीसँगको भेट पक्का गरेको छ ।

छैटौं मिनेटमा नै डिओगो जोटाले गोल गर्ने अवसर खेर फालेका थिए । रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पासलाई जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसपछि दशौं मिनेटमा बेल्जियम कप्तान इडेन हाजार्डको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।

belgium win portugal 1024x550 1

२५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले मुस्किलले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । ३७ औं मिनेटमा मुनिएरले आउटसाइड फुटले गरेको प्रहार पोस्टभन्दा निकै माथिबाट गएको थियो ।

थोर्गनले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएको थियो । बेल्जियमले अघि बढाएको आक्रमणमा पोर्चुगलको डिफेन्स चिर्न नसकेपछि थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए । थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट नै गरेको प्रयासमा गोलरक्षक रुइ प्याट्रीसिओको डाइभ खेर गएको थियो ।

1624814445 744131 1624826528 noticia normal recorte1

दोस्रो हाफको सुरुवातमा नै बेल्जियमले चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिर निकालेको थियो । पोर्चुगलले दोस्रो हाफको सुरुवातमा केहि अवसर सिर्जना गरेपनि खेल बराबरीमा ल्याउन भने सकेन । ५४ औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए । त्यसको केहीबेरमा नै जोटाको प्रहार क्रसबारभन्दा केहि माथिबाट बाहिरियो ।

जोआओ फेलिक्सको हेडर ६१ औं मिनेटमा सिधै गोलरक्षक कोर्टुवाको हातमा पुगेको थियो । लगत्तै ब्रुनो फर्नान्डेसको प्रहार आकासियो । अर्कोतर्फ लुकाकुले हाजार्ड दाजुभाईको उत्कृष्ट मुभपछि बनेको आक्रमणलाई फिनिस गर्न सकेनन् । पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स चिर्न भने असफल रहयो ।

रुबेन डियासको प्रहारलाई ८२ औं मिनेटमा गोलरक्षक कोर्टुवाले बचाए । त्यसको एक मिनेटपछि नै राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्न पुग्यो ।

८६ औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो । अर्कोतर्फ यानिक करासकोले काउन्टर अट्याक अघि बढाएपनि गोलमा प्रहार नगर्दा बेल्जियम अग्रता दोब्बर गर्नबाट चुक्यो । इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिर जाँदा पोर्चुगलको आशा समाप्त भएको थियो ।