
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुले सर्वोच्चको फैसला आउनुअघि पार्टी एकताको मिलनविन्दु पहिल्याइने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरुद्धमा अहिले सर्वोच्च अदलतमा रिट निवेदक तर्फका कानून व्यवसायीले बहस गरिरहेका छन् । आइतबार सो पक्षका बहस टुङ्गिनेछ । रिट निवेदक पक्षका कानुन व्यवसायीहरुको बहस सकिएपछि प्रतिवादी सरकार पक्षका कानुन व्यवसायीको बहस शुरु हुनेछ ।
सम्भवतः यो महिनाको अन्तिमसम्म सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहितको रिटमाथिको बहस टुङ्ग्याएर आफ्नो फैसला सुनाउनेछ । तबसम्म एमाले भित्रको दोस्रो पुस्ताका नेताहरु आन्तरिक विवाद सल्टाइसक्ने लक्ष्यसाथ काम गरिरहेका छन् ।
एमालेभित्र मूलतः २०७५ जेठ २ मा फर्केर पार्टी गतिविधि सञ्चालन गर्ने, सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउने माग दावीमा पेश गरिएको एमाले नेताहरुको हस्ताक्षर फिर्ता गर्ने र माओवादी केन्द्र परित्याग गरी एमालेमा फर्केका नेताहरुको उचित व्यवस्थापनको मुद्दामाथि केन्द्रित भएर छलफल भइरहेको नेताहरुको भनाइ छ ।