८ बैशाख २०८१, शनिबार

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा: रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीले बहस गर्ने

Supreme Court 43KnAVGEAY

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानुन व्यवसायीहरुले बहस गर्दै छन् ।

रिट निवेदकतर्फका कानुन व्यवसायीहरुलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।  संवैधानिक इजलासमार्फ भइरहेको सुरुवाती बहसमा रिट निवेदकतर्फका कानुन व्यवसायीको पालो सकिएपछि विपक्षी अर्थात सरकारतर्फका कानुन व्यवसायीहरुले सुरुवाती बहस गर्नेछन् । सरकार तर्फका कानुन व्यवसायीहरुले १५ घण्टाको बहस सकेपछि फेरि पनि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुले समय पाउनेछन् ।  रिट निवेदकका कानुन व्यवसायीले बहस गर्ने समय शुक्रवार नै अन्त्य गर्ने भनिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनीहरुलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गर्नुभएको थियो।

शुक्रवार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा.दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् र विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । प्रतिनिधि सभा विघटन भएको यो दोस्रो पटक हो ।  बहुमत सांसदको हस्ताक्षरसहित उपस्थित हुँदासमेत देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त नभएपछि १४६ सांसद सर्वोच्च अदालत पुगेर प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए ।