१४ बैशाख २०८१, शुक्रबार

पुर्पक्षका लागि राखिएका चारजना सुधार गृहबाट भागे

bal sudhar griha biratnagar

विराटनगरको बाल सुधार गृहबाट शुक्रबार राति चार जना बालकहरु भागेका छन् । बालबिझ्याँइका मुद्दामा सजायँ पाएका र पुर्पक्षका लागि अदालतले उनीहरुलाई सुधार गृहमा पठाएको थियो । सुधार गृहको तीन तल्ला माथिबाट फालहानेर उनीहरु भागेको आशङ्का प्रहरीले गरेको छ ।

बाल सुधार गृहबाट भागेका मध्ये तीन जना जबरजस्ती करणीको मुद्दामा सजाँय पाएका थिए भने एक जना हातहतियार खरखजनाको मुद्दामा पुर्पक्षमा रहेको बाल सुधार गृह विराटनगरका इन्चार्ज मिलन चौहानले जानकारी दिनुभयो । जबरजस्ती करणी मुद्दाका बालकहरु १८, १९ २० वर्षका छन् । उनीहरुलाई क्रमश ७, ५ र १२ वर्ष कैद सजायँ भएको थियो । खरखजनाको मुद्दामा पुर्पक्षका लागि राखिएका बालक १७ वर्षका हुन् । भागेका बालकहरुको घर झापा, उदयपुर, संखुवासभा र सोलुखुम्बु रहेको प्रहरीले जनाएको छ ।

२४ सै घण्टा प्रहरीको पहरा रहने सुधार गृहबाट यस अघि पनि पटक पटक बालकहरु भाग्ने गरेका थिए । साँघुरो कम्पाउण्ड भएका कारण भवनको पछाडीपट्टिबाट हाम्फालेर भाग्ने समस्या पटक पटक देखिएको हो । शुक्रबार राति प्रहरी सहायक निरीक्षक मानबहादुर बस्नेतको नेतृत्वको प्रहरीले टोलीले पहरा दिएको भए पनि उनीहरुले प्रहरीलाई छलेर भवनबाहिर कम्पाउण्डमा फालहानेर भागेका थिए ।

बाल सुधार गृहबाट चार जना बालक फरार भएपछि खोजी कार्यलाई तीव्र पारेको मोरङ प्रहरीका निमित्त कार्यालय प्रमुख डिएसपी मन्जिल मुकारूङले जानकारी दिनुभयो । फरार भएका चारै जना केही समय अघि मात्र कोरोनाबाट सङ्क्रमित भएका थिए । सङ्क्रमणका कारण उनीहरुलाई सुधार गृह प्रशासनले छुट्टै राखेको थियो । छुट्टै राखेको मौकामा उनीहरु भागेका हुन् । अघिल्लो वर्ष पनि सुधार गृहबाट दुई जना बालक भागेका थिए । उनीहरुलाई प्रहरीले पाँच दिनपछि पक्राउ गरेको थियो ।