१४ बैशाख २०८१, शुक्रबार

टयांकरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु

acdient

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ सीतापुर खण्डमा ना ७ प ५४९५ नम्बरको ट्याङ्करले स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेकी रुपनी गाउँपालिका ३ कटैयाकी ८ वर्षीया यशोदाकुमारी प्रमाणीको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार दिउँसो करिब २ बजेतिर भएको दुघटर्नामा परि मृतक बालिकाकी आमा सुमनीदेवी र मामा कुसुमलाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्कर दिएर भागेको सोही ट्याङ्करले दुई किलोमिटर अगाडी चाँदनी चौकमा स ११ प २५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार कंचनरुप नगरपालिका ६ की ७ बर्षिया सुमैया प्रवीणको पनि घटनास्थलमै मृत्यु भएको छ ।

घाइतेहरूको स्थानीय ठेलिया र युनिक अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने ट्याङ्कर नियन्त्रणमा लिइए पनि चालक भने फरार भएको र निजको खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

पहिलो घटनामा ठक्कर दिएर भाग्न खोज्दा चालकले नियन्त्रण गुमाएको र गाडी अनियन्त्रित भएपछि दोस्रो घटना हुन गएको देखिएको प्रहरीको भनाई छ । घटनापछि आक्रोशित स्थानीयवासीले क्षतिपूर्ति र फरार चालकलाई अविलम्ब पक्राउ गरी कडा कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका छन् भने राजमार्ग खोलाउन आवश्यक पहल भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।