६ चैत्र २०८०, मंगलवार

अब चुच्चे नक्सालाई कसैलेपनि मेटाउन सक्दैन – प्रधानमन्त्री ओली

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा अब कसैले पनि मेटाउन नसक्ने बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले इतिहासमै पछिल्लो समय सार्वजनिक गरिएको उक्त चुच्चे नक्साले अहिलेको अवस्थामा एउटा लय समाति सकेको र अब नक्साको बारेमा कता जाने, के गर्ने भन्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । नक्साको विषयमा अब छरपष्ट होइन, हामी कन्फुयूजनमा छैनौं, क्लियारिटीमा छौं, प्रधानमन्त्रीले बताउनुभयो ।

देशको परराष्ट्र एवम् अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा बताउनुहुदै प्रधानमन्त्री ओलीले नेपालले सबैसँग इमानदार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताउनुभयो । राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई भुल्न नहुने र यसलाई छोडिएमा या त, अन्तराष्ट्रियवाद या त, संकीर्णवाद हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सार्क सम्मेलनलाई पनि जोड दिनुभएको छ । अहिले नेपाल यसको अध्यक्ष छ, हामी अधिवेशन गर्न चाहन्छौं, यदि अरुले गर्न सक्दैनन् भने हामी गर्छौ, उहाँले बताउनुभएको छ । भूगोलमा कुनैपनि देश ठूलो वा सानो भएपनि राष्ट्रियता सबै देशको समान हुने बताउनुहुदै नेपाल सधैं विश्व शान्तिको पक्षमा रहने र यही दृष्टिबाट देशको अन्तर्राष्ट्रिय नति निर्देशित हुने प्रष्ट पार्नुभयो । छिमेकी राष्ट्र भारतसँगका सीमासम्बन्धी लगायत अन्य समस्या समाधानका लागि गठित उच्चस्तरीय कार्यदल नेपाल भारत प्रबुद्ध समूह (ईपिजीं) सम्बन्धमा पनि दुवै पक्षबाट बुझनुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको कार्यक्रममा बोल्नुहुदै समग्रमा विश्व शान्ति र मानव जातिविरुद्ध निर्माण हुने कुनैपनि हतियार र विस्फोटकजन्य निर्माणमा नेपालले सहमति जनाउन नहुने पनि बताउनुभएको छ । सोही अनुरुप नै सबैसँग मित्रता, कसैसँग छैन शत्रुता भन्ने परराष्ट्र नीति नेपालले लिएको उहाँको भनाई छ । छिमेकी सम्बन्धमा कुनै असमझदारीहरु छन् भने यसलाई हटाउदै सुदृढीकरण र सबलीकरण गर्दै अघि बढ्नुपर्ने विषयमा पनि प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।