२६ बैशाख २०८१, बुधबार

निषेधाज्ञा जारी भए पनि रोकिएनन् विवाह भोज, गाउँभर सङ्क्रमित

bajhang chaitali corona
फाइल फोटो

जिल्लाभर निषेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागी हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत् रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागी भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

एउटै गाउँमा यति धेरै जनामा सङ्क्रमण देखिएको हो । विवाहमा सहभागी भएका ५० जनाको परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल बताउनुहुन्छ । गाउँभरि नै ज्वरो, रुघा, खोकी र शरीर दुख्ने समस्या देखिएपछि परीक्षण गरिएको थियो । यस अघि बागलुङको बडिगाड गाउँपालिका–४ मा विवाह भोज खाएका अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोही विवाहमा सहभागी एकै परिवारका चार जनाको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।

“सात जनाभन्दा जम्मा नहुनु भन्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको निर्णय छ, पालना सबैले गर्नुपर्छ”, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक शिवकुमार कार्कीले भन्नुभयो, “ कसैले नियम मिचे प्रशासनलाई खवर गरौँ ।” बागलुङको भकुण्डे, तित्याङ र पैञ्युपाटालगायत गाउँमा पनि यसै साता धार्मिककार्यमा धेरै जम्मा भएर भोज गरेको गुनासो छ तर प्रशासनलाई पहिले खबर नगर्ने र पछि गुनासो गर्ने धेरै रहेको कार्की बताउनुहुन्छ । बागलुङमा यो समाचार तयार गर्दासम्म ३४० जना सक्रिय सङ्क्रमित छन् । खनालका अनुसार, दोस्रो लहर चल्ने बेला अन्यत्रभन्दा पहिला धेरै सङ्क्रमित देखिएको वडा नं १४ नारायणस्थान सक्रिय सङ्क्रमित मुक्त भएको छ । त्यस्तै वडा नं ११ रायडाँडा, वडा नं ५ मालिका र वडा नं ८ सिगानामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।