१६ चैत्र २०८०, शुक्रबार

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

Supreme Court 43KnAVGEAY

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चले आजका लागि रिट निवेदक र सरकार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

दुवै पक्षको छलफलपछि सर्वाेच्चले मन्त्रिपरिषद पुनर्गठन गर्न मिल्ने नमिल्ने विषयमा अन्तरिम आदेश जारी गर्ने विषयमा आदेश गर्नेछ । यदि अन्तरिम आदेश जारी भएमा प्रधानमन्त्री ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुको आधार कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाएर मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए । संसद विघटनको सिफारिश गरेका कामचलाउ प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक रहेको भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत पुनर्गठन खारेज गर्न माग गरेका छन् ।