११ बैशाख २०८१, मंगलवार

राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते

army ghaite 750x375 1

पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् ।

पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको जानकारी प्राप्त भएको छ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो । उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।