७ बैशाख २०८१, शुक्रबार

पहिलो श्रम गन्तव्य मुलुक कतार

Qatar

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनाको अवधिमा नेपालीको पहिलो गन्तव्य कतार बनेको छ । नेपाल राष्ट्र बैङ्कले जारी गरेको प्रतिवेदनअनुसार चालू आवको पहिलो १० महिनामा एक लाख ६६ हजार विदेशिएकामा कतारमा मात्रै ४७ हजार ५७ जना श्रम स्वीकृति लिएर गएका छन् । जसमा १८ हजार ३७३ जना नयाँले श्रम स्वीकृति लिएर तथा २८ हजार ६८४ जनाले पुनः श्रम स्वीकृति लिएर गएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै सो अवधिमा साउदी अरबमा ४४ हजार ८१३ जनाले श्रम स्वीकृति लिएर गएका छन् भने कुनै बेला पहिलो श्रम गन्तव्य मुलुक मलेसियामा यस अवधिमा पाँच हजार १४३ जना मात्रै पुनः श्रम स्वीकृति लिएर गएका छन् । त्यसैगरी बहराइनमा चार हजार ५१०, ओमान तीन हजार ५० र कुवेतमा दुई हजार ४४१ जना गएका छन् ।

पुनः श्रम स्वीकृति ६० प्रतिशतले घट्यो
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको १० महिनामा पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अझै गिरावट आएको छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालू आवको सोही अवधिमा ६०.३ प्रतिशतले गिरावट आएको हो ।
गत आर्थिक वर्ष २०७६/७७ को १० महिनामा श्रम स्वीकृति लिएर एक लाख ९३ हजार ८८० नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । पछिल्लो वर्ष कोरोना भाइरस महामारीका कारण श्रम गन्तव्य मुलुक मलेसिया, कुवेतलगायत देशले नेपालबाट श्रमिक लिएका छैनन् ।
कतार, साउदी, ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) (सरकारी र गैरसरकारी क्षेत्रमा मात्र)लगायत देशले नेपालबाट श्रमिक लगे पनि अन्तर्राष्ट्रिय उडान बन्द, बन्दाबन्दी र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ । सो अध्ययन प्रतिवेदनअनुसार पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या चालू आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको सङ्ख्या एक लाख ७५ हजार ५५१ जना थियो भने चालू आवमा घटेर ८९ हजार ५५४ जनाले मात्रै पुनः श्रम स्वीकृति लिएका छन् ।