११ बैशाख २०८१, मंगलवार

झापाको मेचीनगरमा आफ्नै साथीले गरे साथीको हत्या

beating
सांकेतिक तस्विर

झापाको मेचीनगर–५ अँधेरीका ४० वर्षीय भीमराज लिम्बुको आफ्नै साथीले हत्या गरेको पाइएको छ । बुधवार राति करिब ८ः४० बजे स्थानीयले उनलाई मृत अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए ।

त्यस लगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी नायव उपरीक्षक सुनिल दाहालको नेतृत्वमा गएको प्रहरीको टोलीले हत्या आरोपमा सोही ठाउँका ५६ वर्षीय सुकराज लिम्बुलाई बिहीबार बिहान २ बजे पक्राउ गरेको थियो ।

प्रारम्भिक बयानमा आपसी झैझगडाको क्रममा आफूले घाँटीमा क्रयाक ब्याण्डेजले बाँधेर हत्या गरेको सुकराजले प्रहरीसमक्ष स्वीकार गरेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप बताउन मिल्ने प्रहरीले जनाएको छ ।