
अविरल बर्षाले बागलुङ जिल्लाका जैमिनी नगरपालिका वडा न ७ जैदिमा बिकराल रुप लिएको छ। जैदिको ढाबमा एक घरमा पूर्ण क्षति पुगेको छ । करिब २० घर जति रहेको ढाब गाउँ पुरै जोखिममा परेको छ । जथाभावी सडक निर्माण गर्दा पहिरोले ढाबको १ घरमा पुर्ण क्षति पुगेको स्थानीयले बताउनु भएकाे छ । बुधबार बिहान ३ बजे खसेको पहिरोले घरका गोठमा क्षति पुगेकाे हो । केही दिन अगाडि मात्र उक्त घरमा मेसिनरी वाल लगाउने निर्णय भएको वडा अध्यक्ष जित बहादुर रानाले बताउनु भयो” । तर अविरल बर्षाले समयमा वाल लगाउन नसक्दा यो अवस्था निम्तिएको हो ।
यता पहिरो खस्न थालेपछि जैदि आचार्य गाउँ पहिरोको जोखिममा परेको छ। यो गाउँमा ९ घरको बसोबास छ। सबै परिवारका लत्ताकपडा ,सरसामान अन्यत्र सारिएको छ । ‘भिरालो पाखोमा भएको बस्ती माथिबाट खसेको पहिरोसँगै बग्ने हो कि भन्ने त्रास छाएको छ’, स्थानीय लेखनाथ शर्माले बताउनु भयो । उहाँका अनुसार कालिदास शर्मा, दिपक आचार्य लगायतको घर उच्च जोखिममा छन्। ‘दिउँसो ठिकै भए पनि राति ढुक्क भएर बस्न सक्ने स्थिति छैन’, उहाँले भन्नु भयाे।
जैदिको सतिढुङ्गा माध्यामिक विद्यालय जाने मोटरबाटो बगाएको छ र बिधालय पनि पहिरोको जोखिममा परेको छ । गाउँलेलाई आवतजावत गर्न समस्या भएको छ। वडाध्यक्ष रानाले जोखिममा परेका घरलाई सतर्कता अपनाउन अनुरोध गरिएको बताउनुभयो।
“करिब १ महिना अघि मात्र सडक स्तराेन्नति भएको थियो । ठेकेदारको लापरबाहीका कारण यो अवस्था आउन पुगेको हो ” एक स्थानीयले गुनासो गर्नुभएकाे छ । लापरबाहीका कारण बिजुलीको तारमा पनि क्षति पुगेकाे थियो भने ढलको उचित ब्यबस्थापन नहुदा कयौं घर बस्ती छोडेर हिड्नु परेको स्थानीयको गुनासो छ।

