७ बैशाख २०८१, शुक्रबार

मनाङमा गाउँपालिका, प्रहरी चौकी, बैंक र होटल बाढीले बगायो, स्थानीय ओडारमा

badi

हिमाली जिल्ला मनाङमा बाढीले गाउँपालिका भवन, प्रहरी चौकी, बैंक र होटल बगाएको छ । सोमबारदेखि निरन्तर परेको बर्षाका कारण धारापानी रहेको नासो गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र होटल बगाएको छ ।

प्राइम कमर्सियल बैंकका एक कर्मचारी सम्पर्कविहिन भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार निरन्तर पानी परिहेको र मस्र्याङदी नदी बढ्दै जाँदा बाढी पसेको हो । बाढीले बुधबार गाउँपालिकाको भवन, प्रहरी चौकी, बैंकसंगै पाँच वटा होटल बगाएको उहाँले बताउनुभयो । भवन पछाडिको सबै भाग बगाएको बताउनुभएको छ । उहाँका अनुसार मस्र्याङदीमा आएको बाढीले गर्दा धारापानी बजार नै जोखिममा परेको छ । बाढीले बुधबार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने झोलुंगे पुल बगाएको प्रशासनले जनाएको छ । उक्त क्षेत्र मनाङको तल्लो भेग पर्छ ।

प्रजिअ लामिछानेले बिजुली, टेलिफोनका पोलहरु, तारहरु, खानेपानीको पाइपहरुमा क्षति भएको बताउनुभयो । सोमबारदेखि बिजुली अवरुद्ध भएको छ । सबैको मोबाइल अफ भएको छ । धारापानी पारी रहेको थोचें स्वास्थ्य चौकी पनि जोखिममा रहेको बताउनुभयो ।

सम्पर्क विहीन कर्मचारी कुनै सुरक्षित ठाउँमा बसेको हुन सक्ने प्रहरीले जनाएको छ । धारापानी क्षेत्रमा जोखिम बढेपछि स्थानीयहरु ओडार गाउँमा सुरक्षितका साथ बसेका छन् । नदी आसपासका सबै वस्तीहरु जोखिममा रहेको प्रहरीले जनाएको छ ।