
विश्व फुटबलमा चर्चा कमाउन सफल पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् ।

रोनाल्डोजस्तै अनुहार भएका उनी सानैदेखि फुटबलमा लागेका छन् भने आफ्ना बुवाको जस्तै कौशल देखाउन सिपालु भइसकेका छन् । त्यस्तैमा उनी भर्खरै सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन् ।
इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख जनाले फलो गरेका छन् । यो समाचार तयार पार्दासम्म उनका नौ लाख एकासी हजार तिन सय सत्तरी फलोअर्स भइसकेका छन् । साथै उनले पाँच जनालाई फलो गरेका छन् ।
उनले आफ्नो अकाउन्टमा सुरुवाती दुई फोटो र भिडियो अपलोड गरेका छन् । जसमध्ये पहिलो भिडियोमा उनले आफूलाई चार वटा भाषामा परिचय दिएका छन् ।
‘यो मेरो नयाँ इन्स्टाग्राम अकाउन्ट हो र म आशा गर्छु तपाईँहरु मनोरञ्जन लिनुहुन्छ’ रोनाल्डो जुनियरले पहिलो भिडियोमा भनेका छन् ।
त्यस्तै दास्रो पोस्टमा उनले आफ्ना भाइबहिनी र बुवा बाथ लिइरहेको फोटो हालेका छन् । उनले तेस्रो पोस्टमा भने आफ्नो आमा जोर्जिना रोड्रिगेजसँगको तस्बिर हालेका छन् ।