
मोरंगको बेलबारी नगरपालिकाको गेटमा बेलबारीका सचेत युवाहरुको समुहले मंगलबार बाख्रा सहित प्रर्दशन गरेका छन । दुई साताअघि बेलबारी नगरपालिकाले किसानहरुलाई अष्ट्रेलियाबाट चार्टर गरी ल्याएर फुल ब्लड बोयर जातको बाख्रा बितरण गरेको भन्दै किसानहरुको आँखामा छारो हालेको र १ करोड बढी नगरपालिकाले भ्रष्टचार गरेको भन्दै सचेत युवाहरुले दवाबमुलक कार्यक्रमका रुपमा प्ले कार्ड झुण्डाईएका बोकासहित प्रर्दशन गरेका हुन ।
युवाहरुको समुहले आईतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यलय ईटहरीमा सोही बिषयमा उजुरी समेत गरेका छन । नबलपरासीबाट बाख्रा ल्याएर अष्ट्रेलियन बोयर भन्दै किसानको आँखामा छारो हाली भ्रष्टचार गरेको भन्दै यतिबेला बेलबारी नगरपालिकाको चौतर्फी आलोचना भईरहेको छ ।
हामी बिदेशी बोका होईनौँ नेपाली बोका हौँ,हाम्रो घर नवलपराजी हो,हामीलाई बिदेशी भन्न पाईन्न, हामी जहाज चढेर आएका होईनौँ, बिदेशी भनेर हाम्रो बेईज्जत नहोस, लगायतका दर्जनौ नाराहरु लेखिएका प्ले कार्ड झुण्डाईएका बोका सहित प्रर्दशन गरिएको हो ।
बेलबारीका सुजित बस्नेत,खेम गौतम,रिक्त गुरुंग,कमल सुब्बा,बिशाल थापा,ऐश्वर्यप्रसाद आचार्य (बिपिन) लगायतका युवाहरुको नेतृत्वमा दर्जनौ युवाहरु बिरोध प्रर्दशन सहित नगरपालिका पुगेका थिए । अबिरल बर्षाका बिच पनि उनीहरुले बोका सहित प्रर्दशन गरेका हुन ।







सम्झौता अनुसार नै तोकिए बमोजिमका बोकाबाख्रा अष्ट्रेलियाबाट लाइएको प्रचार गरिएपनि अष्ट्रेलियाबाट बोकापाठी नभित्रिएको पशुसेवा विभाग अन्तर्गतको आयात निर्यात नियमन शाखाले जानकारी दिएको छ । प्रजाति विस्तार ब्रिडिङका लागि ल्याइने बोकाबाख्रा आयात गर्नुअघि त्यस विषयमा पशुसेवा विभागमा अनिवार्य जानकारी तथा सम्पुर्ण विवरण नै अग्रिम उपलब्ध हुनुपर्ने शाखाका डेस्क अफिसर डाक्टर मनोज शाहीले बताउँछन ।
‘त्रिभुवन विमानस्थलबाट आउने होस वा छिमेकी भारत वा चिनसँगको जमिनको नाकाबाट ल्याइने सम्पुर्ण पशुका बारेमा विभागमा अनिवार्य जानकारी हुनुपर्ने हुन्छ ।’डाक्टर शाहीले भने ,‘त्यसरी अष्ट्रेलियाबाट वा भारत चिनबाटै पनि बोकाबाख्रा आयात भएका छैनन् ।’ कोभिड सुरु भएयता विगत झण्डै १ वर्ष यतानै अष्ट्रेलियाबाट बोकाबाख्रा नभित्रिएको जनाए ।