१३ बैशाख २०८१, बिहीबार

हातखुट्टा बाँधेर आफ्नै छोरीलाई बाबुद्वारा बलात्कार, हाडनाता करणीका घटना बढ्दो

RAPE
सांकेतिक तस्विर

सात वर्षीय छोरीलाई घरमा नै छोडेर घाँस काट्न खेतमा पुगेकी आमाले घर फर्किदा छोरीको बलात्कार भएको घटना सुन्दा कस्तो पीडा होला, पक्कै पनि जोकोहीले सजिलै महसुस गर्न सक्दैन । चितवनको माडी नगरपालिकाको घटना हो यो । उनले सोच्दै नसोचेको डर लाग्दो घटना थियो त्यो । एक महिना १८ दिन अघि माडी नगरपालिका ३ धोबाहा भन्ने ठाउँमा घटेको घटना हो यो । भारी बोक्ने नाम्लो, घाँस काटने कचिया बोकेर सबिता(नाम परिवर्तित) दुई छोरीलाई घरमा नै खेलेर बस्नु भनी बारी तिर जान्छिन् ।

घाँसको भारी बोकेर घर फर्किएपछि गोठमा बिसाएकी मात्रै के थिइन् । पिढीमा बसेकी छोरीतिर आँखा जान्छन् उनको । कपाल बिग्रिएको अवस्थामा, आँखाभरी आँसु भरिएकी छोरीलाई के भो भन्दै सबिता आत्तिदै सोध्छिन् । हातहरुमा राता डामहरु, शरीरका कपडा लथालिङ्ग भएको अवस्थामा बालिका भेटिन्छन् । छोरीले बल्ल तल्ल मुख खोल्छिन् । ‘पल्लो घरको अंकलले हातपात गरेको मम्मी’ सबिता एकछिन छानोबाट खसेको जस्तै हुन्छिन् । उनले हत्तपत्त छोरीलाई घरभित्र लगेर बुझ्दा छिमेकी धुपल महतोले छोरीलाई बलात्कार गरेको कुरा थाहा पाउँछिन् ।

झमक्क साँझ पर्दैै थियो । सबिता घाँस काट्न गएको समयमा बालिकालाई बिस्कुट दिन्छु भनेर फकाई महतोले मादक पदार्थ सेवन गरेर छिमेकीको मकैबारीमा बलात्कार गरे । मकैका बोटहरु सबै भाचिँएको अवस्थामा रहेको छिमेकीहरु बताउँछन् । ४८ वर्षीय महतोले सात वर्षीय बालिकालाई जबरजस्ती धम्की दिएर करणी गरे । सबिताको अनुसार बालिकालाई महतोले आफ्नो घरमा लगेर नै करणी गरेका थिए । सबै कुरा थाहा भएपछि सबिता, पीडित बालिका र छिमेकी मिलेर कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिन्छन् । महतोले मादक पदार्थ सेवनले गर्दा बालिकालाई बलात्कार गरेको अनुसन्धानको क्रममा स्वीकार गरेका छन् ।

महतोले नशाको अवस्थामा बालिकालाई के गरेको के नगरेको एकिन नभएको बताउँछन् । महतोलाई कोरोना देखिएपछि न्यायिक हिरासतमा राखिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार महतोलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा (१) र (२) बमोजिमको कसुर अपराध देखिँदा उनलाई सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (क) बमोजिम जरिवाना समेत गरी मागदाबी गरिएको छ ।

श्रीमती माइत गएको मौका छोपी जेठी छोरीलाई बलात्कार

यस्तै राप्ती नगरपालिकामा आफ्नै बाबुबाट १२ वर्षीय बालिका बलात्कृत भएकी छन् । आमा माइत गएको समयमा बालिकालाई आफ्नै बाबुले करणी गरेका हुन् । बालिकाको बाबुले मजदूरी गर्थे । उनले त्यो दिन काममा नगई अरु छोराछोरीलाई बाहिर आगँनमा खेल्न लगाएर ठूली छोरीलाई घरभित्रै राखेर जबरजस्तीकरणी गरेका थिए । उक्त घटना भएको आज एक महिना १६ दिन भएको छ ।

उनले मादक पदार्थ सेवन गरी यौन सम्पर्क गर्न मनलागेर ठूली छोरीलाई करणी गरेको स्वीकार गरेका छन । दिउँसोको समयमा घरमा श्रीमती नभएको मौकामा उनले आफ्नै छोरीलाई करणी गरेका हुन् । बालिकाको आमाले उक्त घटना थाहा पाएपछि पीडकलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरी अदालतमा मु्द्दा चलाएको छ । कानुन अनुसार हाडनाता करणी मुद्दामा चार वर्षदेखि १० वर्ष कैद र ४० देखि १ लाख सम्म जरिवाना हुने व्यवस्था छ ।

हातखुट्टा बाँधेर पटक पटक छोरीलाई बलात्कार

राप्ती नगरपालिकाकै अर्काे घटनामा आफ्नै बाबुले छोरीलाई हातखुट्टा बाँधेर पटकपटक करणी गरेका छन् । दुई महिना अघि रातको ११ बज्दै थियो । श्रीमतीले दोस्रो विवाह गरेपछि उनले आफ्ना तीन सन्तानलाई लालनपोषण गर्दै आएका थिए । उक्त दिन उनले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर आएका थिए । १२ वर्षीय बालिका पनि भान्साको काम सक्काएर सुत्न लागेकी थिइन् । बाबुले मादक पदार्थ पिएकोले अडिन पनि सकिरहेका थिएनन् । बालिका सुतिरहेको ठाँउमा नै बाबुले जबरजस्ती मुख बन्द गराएर हातखुट्टा बाधिँदिएर करणी गरे । उनले बालिकालाई पटक पटक करणी गर्दै आएको पीडित बालिकाले बताइन् । बालिकाले छिमेकीहरुको सहयोगमा नै खैरहनी प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् । बालिकाले जाहेरी दिएपछि उनका बाबुलाई प्रहरीले पक्राउ गरी थुनामा राखेका छन् । घटना भएको भोलिपल्ट नै बालिकाले प्रहरीलाई खबर गरेकी थिइन् । उक्त मुद्दा अनुसन्धानमा क्रममा रहिरहेको छ ।

गर्भवती महिलालाई पनि छाडेनन् छिमेकीले

उनी शारीरिक रुपमा अंपागता भएकी गर्भवती महिला हुन् । २५ वर्षीय उनी छिमेकीलाई केही गाह्रो अप्ठायारो पर्दा काममा सहयोग गर्न जान्थिन् । सोही दिन पनि उनी छिमेकीको घर गएकी थिइन् । छिमेकीका श्रीमान २२ वर्षीय कर्ण (नाम परिवर्तित) ले उनलाई करणी गरेको उनको जाहेरीमा उल्लेख गरिएको छ । पीडित आफैले प्रहरीलाई खबर गरेकी हुन् । पीडकलाई प्रहरीले पक्राउ गरी थुनामा राखेका छन् । सरकारी वकिल कार्यालय अनुसार उक्त मुद्दा अनुसन्धानका क्रममा रहेको छ ।

दुईवटा घटना हेर्दा पीडकहरुले सबैले मादक पदार्थ सेवनको बाहना बनाएको देखिन्छ । हाडनातामा पनि मादक पर्दाथलाई नै गर्दा करणी गरेको जस्ता बयानहरु दिएको पाइन्छ । कतिपय घटनामा पीडित आफैले जाहेरी दिएको पाइन्छ भने कतिपयमा आफन्तले जाहेरी दिएको देखिन्छ । माथिका सबै घटना हेर्दा पीडितहरुलाई पटकपटक जबरजस्ती करणी भएपछि मात्रै न्यायलयमा आएको देखिन्छ ।

बलात्कारीलाई अदालतले फैसला गरेका दिनमा नै बलात्कारका घटना भइराखेको देखिन्छ । वैशाख ११ गते १२ वर्षीया बालिकालाई बलात्कार कसुरमा जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका –२ का ७२ वर्षीय पूर्णबहादुर विकलाई २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । तर, ज्येष्ठ नागरिकको हकमा आधा सजाय कार्यान्वयन हुने भन्दै अदालतले १० वर्ष कैद मिनाहा गरेको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको २०७८ वैशाख १० गतेको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी श्रेस्तेदार ईश्वर आचार्यले बताएका हुन् ।

बालिकालाई ०७७ साउन २१ गते नारायणी नदी किनारमा लगि बलात्कार गरेको भन्दै पीडित बालिकाकी हजुरआमाले विकविरुद्ध साउन २३ गते जिल्ला प्रहरी कार्यालय भरतपुरमा उजुरी दिएकी थिइन् । विकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

चितवनमा चैतदेखि जेठ महिनासम्म मात्रै ५ वटा बलात्कारका घटना भएका छन् । राप्तीमा २, कालिकामा १, माडीमा १ र भरतपुरमा १ जना बालिका, महिला बलात्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय अनुसार वैशाख १७ गतेदेखि महिला बालबालिकामाथि हुने यौनजन्य घटना ६ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै आर्थिक वर्ष २०७७÷७८देखी २०७८ जेठ २७ गतेसम्म जबरजस्ती करणी मात्रै ५४ वटा, जबरजस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोग ९ वटा मुद्दा दर्ता भएका छन् । जसमा ७१ जना पुरुष र ५ जना बालक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । उनका अनुसार चितवनमा बालिकामाथि हुने करणी बढ्दो रहेका छन् । निषेधाज्ञाको समयमा सबै फुर्सदमा रहेकोले पनि हाडनाता करणीहरु बढिरहेको थापाको भनाइ छ ।

महिला अधिकारको कानुनी र नीतिगत व्यवस्था सकारात्मक हुँदै आएको भए पनि कार्यान्वयनको अवस्था सन्तोषजनक भएको देखिदैन ।
नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट जसरी आक्रान्त हुँदै आएका छन् त्यो भने भयावह नै छ । मानव अधिकार अनुगमन र मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको अनुगमन गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२० को नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला तथा बालिकाविरूद्ध भएका हिंसात्मक घटनाहरूका आधारमा यो प्रतिवेदन तयार पार्दै आएको छ । प्रतिवेदन अनुसार घटना अनुसार दुई वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको देखि ७१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको सम्म रहेका छन् । पीडितहरूमध्ये १० वर्ष मुनिका १२ जना, ११ वर्षदेखि २० वर्ष उमेर समूहका १४ जना, २१ वर्षदेखि ३० वर्षसम्म आठ जना, ३१ वर्षमाथिका पाँच जना गरी ३९ जना रहेका छन्।

सरकार, समाज र परिवारको दायित्व

चितवनका मानवअधिकार सञ्जाल चितवनका अध्यक्ष राजेन्द्र पौडेलका अनुसार सरकारले कानुनको व्यवस्था मात्रै नभएर कडा रुपमा कार्यन्वयन हुनुपर्छ । करणी गर्ने पीडकलाई कडा कानुनी कारबाही गर्नुपर्छ । जसले गर्दा पीडकले आफूले गरेको अपराधबारे पछुतो होस् त्यस्तो कानुनी कारबाही हुनुपर्ने पौडेलले बताए । महिला तथा बालबालिकामाथि हुने यौनजन्य घटनाहरु प्रति सबैजना संवेदनशील हुनुपर्छ । यस्ता घटनालाई सामान्य लिन नहुने उनले बताए । यस्ता घटनाहरुलाई मिलापत्र गर्न नहुने, पीडितलाई सुरक्षा प्रदान गर्ने, अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई सतर्क रहन उनीहरुको कुरामा विश्वास राख्ने जस्ता कामहरु गर्न उनले आग्रह गरेका छन् ।

कानुन कार्यान्वयनका सवालमा पीडितकेन्द्रित र महिलामैत्री वातावरणको निर्माण गर्नुपर्ने, भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्नु÷गराउनुपर्ने, छिटो न्यायका लागि अदालती कारवाही द्रुत गतिमा हुने व्यवस्था मिलाउनुपर्ने, बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका घटनाका उजुरीको हदम्याद बढाउनुपर्ने । यस्ता अपराधलाई गाउँस्तरमा मिलाउने सरकारका राष्ट्रसेवकलगायत अन्यलाई कानुनी कारबाहीको प्रावधान राखी कानुन तर्जुमा गर्नु पर्ने उनले बताएका छन् । पीडकबाट प्राप्त जरिबाना हानीपूरण स्वरूप पीडितलाई उपलब्ध गराउनुपर्ने पौडेलले जानकारी दिएका छन् ।