
युरो कपको समूह ‘बि’ अन्तर्गत फिनल्यान्डविरुद्धको खेलका क्रममा डेनमार्कका मिडफिल्डर क्रिस्टिएन एरिक्सन मैदानमै ढलेका छन्।
क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द गरिएको छ । युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण खेल रद्द गरिएको जनाएको छ ।
शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका हुन् ।
इटालियन क्लब इन्टरमिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी कोपनहेगनमा भइरहेको युरो कप अन्तर्गत फिनल्यान्डविरुद्धको पहिलो हाफको ४३ औँ मिनेटमा मैदानमै ढलेका हुन्। खेलको साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।
बललाई हेड गर्न खोज्दा मैदानमै बेहोस भएर ढलेका २९ वर्षीय एरिक्सनको उपचारका लागि तत्कालै चिकित्सकसहितको टिम पुगेको थियो।
तत्कालै मेडिकल टिम पुगेर उनको उपचारको प्रयास गरेका थिए । करिब २० मिनेटसम्म एरिक्सनको मैदानमा नै उपचारको प्रयास गरेपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट लगिएको थियो । टेलिभिजन फुटेजमा उनको छातीमा मेडिकल टिमले दबाब (सीपीआर) दिइरहेको देख्न सकिन्थ्यो । मैदानमा उपस्थित दर्शक घटनाले स्तब्ध बनेका थिए भने उनका समकक्षीहरु आँशु थाम्न सकिरहेका थिएनन् ।
मैदानमै ढलेपछि डेनमार्कका खेलाडीहरुमा रूवाबासी चलेको छ। एरिक्सन ढलेपछि यी दुई देशबीचको खेल पनि स्थगित गरिएको छ।
एरिक्सन ढल्दासम्म खेल गोलरहित बराबरी थियो। मैदान छाड्दै गर्दा उनी हाेसमा आएको तस्बिर कैद भएको छ ।
डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।
एरिक्सानलाई अस्पताल पुर्याएपछि दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भएको र खेल पुन: सुचारु गर्ने सहमति भएको थियो ।










