
गोविन्द केसी अलाइन्समा आवद्ध युवाहरुले एण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन खोजिएको भन्दै प्रदर्शन गरेका हुन् ।
‘सोलिडारिटी फर डा. केसी’ ले आज काठमाडौंको माइतिघरमा उनीहरुले विभिन्न प्लेकार्डसहित सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । केहि बेर प्रदर्शन गरेपछि प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरुले बोकेको प्लेकार्डमा ‘संविधानमाथि केपी ओली, कानूनमाथि दुर्गा प्रसाई’, ‘ओलीको मिसन, सिटामोलमा कमिसन’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा उत्रिएका केहीलाई भने प्रहरीले पक्राउ गरेको छ ।
यसअघि बिहीबार नै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जेठ २८ गते चिकित्सा शिक्षा आयोगको जबर्जस्ती बैठक राखेर बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गराउन खोजेको भन्दै विरोध जनाएका थिए । उनले सम्बन्धन सम्बन्धी निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको भन्दै यो विधिको शासनविरुद्ध अक्ष्यम्य अपराध हुने पनि बताएका छन् ।
वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा आयोगमा बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया विचाराधीन छ। केसीले अनसन बस्ने चेतावनी दिएकै बेला उनका समर्थहरुले आज सरकारको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
केसीले आफू हाल द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरुमा सेवा दिएर नेपाल फर्कने तयारीमा रहेको भन्दै सम्बन्धन दिएमा अनसन बस्ने चेतावनी दिएका छन् ।



