१५ बैशाख २०८१, शनिबार

चितवनमा विभिन्न सङ्घसंस्थाको सहयोगमा १५० शवको निःशुल्क दाहासंस्कार

devghat 1024x579 1

भरतपुर महानगरपालिकाको अगुवाइमा विभिन्न सङ्घसंस्थाको सहयोगमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका १५० जनाको दाहासंस्कार गरिएको छ । महानगरसँगै जिल्ला प्रशासन कार्यालय, नेपाली सेनाको कालीबहादुर गण, देवघाट क्षेत्र विकास समिति, लायन्स क्लब, नेपााल वन पैदावर व्यवसायी महासङ्घ चितवन लगायतको सहयोगमा निःशुल्क दाहसंस्कार गरिएको हो ।

महानगरले निःशुल्क शव वाहन, दाउरा र एक्साभेटर उपलब्ध गराएको छ । नेपाली सेनाले अस्पतालबाट दाहसंस्कारस्थलसम्म शव लगेर व्यवस्थापनमा सहयोग गर्दै आएको छ । देवघाट क्षेत्र विकास समितिले दाहसंस्कारस्थल नजीक दाउरा ल्याएर एउटा शवका लागि रु ५०० छुट गरेको छ ।

यसैगरी लायन्स क्लबले एउटा शववाहन निःशुल्क उपलब्ध गराएको छ । नेपाल वन पैदावर व्यवसायी महासङ्घले आवश्यक दाउरा उपलब्ध गराएको छ । महानगरको आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार जेठ ६ गतेदेखि हालसम्म यहाँका अस्पतालमा मृत्यु १४६ जनाको शव जलाइएको र आठजनाको शव गाडिएको छ । जलाइएकामध्ये चारजनाको परिवारले मृतकलाई भार लाग्ने भन्दै दाहसंस्कार खर्च आफैँ तिरेका छन् । उहाँका अनुसार कोरोनाका कारण मृत्यु भएको परिवारका लागि महानगरले दाउरा, शव बोक्नका लागि शववाहन र खाल्डो खन्नका लागि स्काभेटरको व्यवस्था गरेको हो ।

कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा ठूलो रकम तिर्नु परेको गुनासो आएसँगै जेठ ५ गते महानगरप्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सङ्क्रमितको शव व्यवस्थापनमा सहयोग गर्नका लागि महानगरलाई जिम्मा दिएको थियो । यसअघि एउटा शवका लागि रु १९ हजारदेखि २८ हजारसम्म मृतकका परिवारले तिर्न बाध्य भएका थिए । हाल अन्त्येष्टि गर्ने मानिसको अभाव भएमा केही रकम दिएर सहयोग लिनुपर्ने भए पनि मृतकका आफन्त भएको अवस्थामा दाहसंस्कार निःशुल्क भएको छ ।

महानगरले दाउरा किन्न रु तीन हजार दिने गरेको छ । सो अनुसार महानगरले शवको दाहासंस्कारका लागि रु चार लाख २६ हजार बराबरको दाउरा खरीद गरी मृतकको दाहासंस्कार गरेको हो । यहाँका अस्पतालमा उपचारका लागि आएका सङ्क्रमितहरूमध्ये आधाभन्दा बढी जिल्लाबाहिरका रहेका छन् । विभिन्न अस्पतालमा अहिले ३१९ जनाको उपचार भइरहेको छ । जसमध्ये सघन उपचार कक्षमा १४३, एचएफएनसीमा ३०, एचडियुमा ४३ र आइसोलेशनमा १३५ जनाको उपचार भइरहेको छ । तीमध्ये चितवनका १४४ जना रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमणका कारण २३० जनाको मृत्यु भइसकेको छ । अहिले कोरोना सङ्क्रमणका कारण मृत्यु भएकाहरूको भरतपुर महानगरपालिका–१ बागेश्वरी नजीक नारायणी नदी किनारमा दाहासंस्कार गरिँदै आएको छ ।