७ बैशाख २०८१, शुक्रबार

चितवनमा खुकुलो बनाईयो निषेधाज्ञा, के खुल्ने-के नखुल्ने ?

chitwan narayanghat pulchowk
फाइल फोटो

चितवनमा केही खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि असार ३ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज (बुधबार) आदेश जारी गर्दै निषेधाज्ञा केही खुकुलो बनाएको हो ।

यसअघि निषेधाज्ञाको बेला बैंकिङ तथा वित्तिय संस्थाहरु साताको तीन दिन मात्रै खुल्ने गरेकोमा भोलि (बिहीबार)देखि नियमित रुपमा संचालन हुने भएको छ । न्यूनतम कर्मचारी खटाई जनस्वास्थ्यका मापदण्डका अनिवार्य रुपमा पालना गराई नियमित रुपमा बैंकिङ तथा वित्तिय संस्थाहरु खोल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । यसअघि आइतबार, मंगलबार र बिहीबार मात्रै विहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंक खोल्न दिईएको थियो ।

यसैगरि अन्य समयमा पूर्ण रुपमा बन्द गरिएको पुस्तक पसलहरु पूर्ण रुपमा खोल्न दिइएको छ । जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी पाठ्य पुस्तक विक्री वितरण गर्ने पसलहरु संचालन गर्न दिइने निर्णय भएको प्रजिअ लामिछानेले बताए ।

यस्तै रासायनिक मल तथा कृषि बिउ बिजन विक्री वितरण गर्ने पसलहरु दैनिक रुपमा खोल्न दिने निर्णय भएको छ ।

त्यसैगरि बढीमा ३ जना कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने वर्कशप संचालन गर्न दिने निर्णय भएको प्रजिअ लामिछानेले बताए ।

bg