८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री नियुक्तिका लागि देउवाको दावी पुग्दैन भन्ने आधार के हो ? : शम्भु थापा

shambhu thapa

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठ अधिवक्ता शम्भु थापा र महादेव यादवले बहस गरिसकेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा छन् । चिया ब्रेकपछि थप छलफल हुने इजलासबाटै न्यायाधीश ईश्वर खतिवडाले बताएका छन् ।

थापाले राष्ट्रपतिले बनिसकेको सरकारको हत्या गरेको भन्दै धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएको जिकिर गरेका थिए । आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक सांसदहरुको पक्षबाट बहस गर्दै थापाले राष्ट्रपतिले धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि शेरबहादुर देउवाको दावी पुग्दैन भन्ने आधार के हो भनी प्रश्न गरेका छन् । ‘बहुमत हस्ताक्षर आउँदा आउँदै आधार पुग्दैन भन्ने आधार के हो ? आधार खोज्न परे संसद जानुपर्दैन ?’ उनले प्रश्न गरे ।

थापाले भने, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानमा छ । विश्वासको मत पाउन सक्दिन भनिसकेकोले केपी ओलीजी पदमुक्त भइसक्नुभयो । ओलीजी विश्वासको मत नपाएकोले पदमुक्त अवस्थामा हो । संसदीय प्रजातन्त्र हाम्रो संविधानले रक्षा गरेको छ । धारा ७६ को व्यवस्थाले संसदीय व्यवस्थासंग जोडिएको छ । यो कार्यान्वयन नहुदा संविधान नै फेल हुन्छ ।’