
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति क्रमशः न्यून हुँदै गएपछि चितवन प्रशासनले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । जिल्लामा निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधारमा अब कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानले सबै क्षेत्रबाट रिपोर्टिङ लिने काम भइरहेको जानकारी दिनुभयो । भालि यसबारे निर्णय गर्न डिसिसिएमसीको बैठक बस्दैछ ।
सबै क्षेत्रबाट सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ,प्रजिअ लामिछानले भन्नुभयो, केही सहजीकरण भने पक्कै हुनेछ । उहाँले जिल्लामा केही गतिविधि गर्न दिइनेगरी निर्णय गरिने नारायणी अनलाइनलाई जानकारी दिनुभयो । अन्य जिल्लाको तुलनामा चितवनमा कोरोना संक्रमण दर घट्दो छ । तर जोखिम भने कायमै छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा बढेसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गइरहेको तथ्याङ्कले देखाएको छ ।
यसैविच चितवनमा आज एकैदिन विभिन्न अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा ३ जना रहेका छन् । जसमा चितवनको १ जना र बाहिर जिल्लाका चार जना रहेका छन् ।
विभिन्न अस्पतालका आईसीयूमा १३४ जना, भेन्टिलेटरमा ३१ जना, एचडीयूमा ४७ जना, जनरल बेडमा १३२ जना गरी जम्मा ३०९ जना बिरामी उपचार गराइरहेका छन् । विगत २४ घण्टामा ३६ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा चितवनमा ८६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ५६ जना, खैरहनीमा ३ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा ३ जना, राप्तीमा ४ जना, कालिकामा ४ जना र इच्छाकामनामा १ जना रहेका छन् । आजसम्म चितवनमा २३१ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ७१७ जना रहेको छ । जसमा घरमा आइसोलेसनमा एक हजार ५४६ जना, अस्पतालमा आइसोलेसनमा १४६ जना, सार्वजनिक आइसोलेसनमा २७ जना रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले पछिल्लो समय जेठ २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो । चौथो पटक थपिएको समय पर्सी सकिदैं छ । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो परेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गते रातिदेखि लागू हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । लगत्तै जेठ १३ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । कोरोना संक्रमणको दर अझै नघटेपछि जेठ २० गते राति १२ बजेसम्म लागू हुने गरी थप गरिएको थियो । त्यसपछि पुनः २७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।