१४ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमणबाट विदेशमा थप १३ नेपालीले ज्यान गुमाए, मृतकको संख्या ४३५ पुग्यो

usa corona
फाइल फोटो

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा एक लाख १० हजार १९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एक लाख ६ हजार ८२३ हजार नेपाली कोरोनामुक्त भएका छन् । हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् ।

संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ । यसैबीच नेपालमा हालसम्म पाँच लाख ८८ हजार १२४ जना संक्रमित पुगेकोमा ७६ दशमलब ६ प्रतिशत अर्थात चार लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण आइतबार साँझसम्म सात हजार ८९८ जनाको निधन भएको छ ।
आइतबार साँझसम्म नेपालमा ६ लाख १ हजार भन्दा बढीमा संक्रमण देखा परेको छ । हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ । डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।

यसैबीच समितिले जारी गरेको स्वास्थ्य निर्देशिकालाई अनुशरण गर्न पनि अनुरोध गरिएको छ । यस्तै संक्रमणबाट बच्नका लागि खोप मात्रै अचुक उपाय साबित भइरहेको छ । तर सबैको पहुँचमा खोप पुगिरहेको अवस्था छैन । यस्तोमा एउटै कम्पनीबाट विभिन्न मुलुकमा विकास गरिएका खोपहरुको प्रयोग पनि गर्न सकिने तथ्य आइरहेका छन् । यसर्थ पनि तत्काल खोपको सुनिश्चितता गरी खोपको पहुँच स्थापित गर्नेतर्फ पनि लाग्नुपर्ने समितिले सुझाएको छ ।