१३ बैशाख २०८१, बिहीबार

माधव–झलनाथ समूह बैठक बस्दै : ओलीको ६ बुँदामा छलफल हुने

madhav kumar nepal and jhala nath khanal
फाइल फोटो

नेकपा एमाले एकताका विषयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले ६ बुँदे प्रस्तावअघि सारेपछि माधव–झलनाथ समूहको आकस्मिक बैठक बस्दै छ।

अध्यक्ष ओलीले आइतबार राती आफू एमाले एकताका पक्षमा रहेको भन्दै माधव–झलनाथ समूह समक्ष ६ बुँदे प्रस्ताव अघि सारेका थिए।

उनले प्रस्तावको चार नम्बर बुँदामा विपक्षी दलका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै गरिएको हस्ताक्षर फिर्ता लिनु पर्ने सर्त राखेका छन्।

ओलीको ६ बुँदे प्रस्तावका विषयमा माधव–झलनाथ समूहका नेताहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। नेताहरूबाट फरक फरक धारणा आइरहँदा माधव–झलनाथ समूह बैठकबाट संस्थागत धारणा बनाउन आफ्ना स्थायी कमिटी सदस्यहरूको आकस्मिक बैठक बोलाएको हो। एक नेताका अनुसार बैठक ११ बजे भर्चुअलमा रूपमा बस्नेछ।

नेपाल समूहमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा. विजय पौडेल, राजेन्द्र राई लगायत नेता ओलीसँग सम्झौता गर्न नहुने पक्षमा छन्।

सो समूहका नेता योगेश भट्टराईले ओलीको प्रस्तावलाई सकारात्मक भनेका छन्। यस्तै गोकर्ण विष्ट पनि सकारात्मक नै छन्। तर नेतृ रामकुमारी झाँक्री र जगन्नाथ खतिवडाले ओलीले अलमल्याउन खोजेको बताएका छन्। नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेताको प्रस्ट धारणा आइसकेको छैन।

एमाले अध्यक्ष ओलीले आइतबार साँझ पार्टीलाई २ जेठ २०७५ पूर्वको अवस्थामा फर्काउने घोषणा गर्दै माधव नेपाल पक्षसमक्ष ६ बुँदे प्रस्तावमा केही सर्त राखेर राखेर एकताका लागि प्रस्ताव गरेका थिए।