
कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट थपिएका दुई मन्त्रीले शपथ लिएका छन् उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
सत्ता साझेदार नेपाली काँग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी बन्नका लागि काँग्रेस संसदीय दलले शुक्रबार २ जनाको नाम सिफारिस गरेको थियो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चैत अन्तिम साता काँग्रेस र माओवादी केन्द्रबीच सत्ता साझेदारीबारे सहमति भएपछि २०७४ को निर्वाचनपछि काँग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग सत्ता साझेदार गरेको हो ।
नेकपा माओवादी केन्द्रसँग सत्ता साझेदार गर्दै कांग्रेसले सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बुढा क्षेत्री र उर्जा जलस्रोत मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठलाई सरकारमा पठाएको छ । दुवै जनाले संसदीय दलको बैठकमा भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् ।मन्त्री बनेका दुई सांसदलाई कांग्रेसले आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययिता, सादा जीवनशैली अपनाउनु पर्ने विषय उल्लेख भएको आचारसंहितामा हस्ताक्षर गराएको छ ।
सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाउने काँग्रेसले जनाएको छ । दुई मन्त्री थपिए सँगै कर्णाली प्रदेश सरकारमा ८ जना मन्त्री भएका छन् ।