१५ चैत्र २०८०, बिहीबार

प्रधानमन्त्री ओलीले एमाले र पूर्वमाओवादीका नेतालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी

kp oli pPzc4lRUsK

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले आफूसँग रहेका सात वटा मन्त्रालय गृह, रक्षा, गृह, उद्योग, कृषि, सामान्य प्रशासन, वन र सञ्चारमा नेकपा एमाले र पूर्वमाओवादीका नेतालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका हुन् ।

उनले पूर्वमाओवादी केन्द्रलाई पनि समेटेर मन्त्रीहरुको अन्तिम टुंगो लगाउन बालुवाटारमा छलफल जारी राखेका छन् । मन्त्रीको नाम टुंगो लगाउने विषयमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग छलफल जारी राखेको एमालेका एक नेताले जानकारी दिए ।

‘प्रधानमन्त्रीज्यू सम्भवतः आज बेलुका सम्म अन्तिम टुंगो लगाउने गरी तयारी गरिरहनु भएको छ’, अ‍ोली निकट एक नेताले भने ।प्रधानमन्त्री ओलीको नयाँ क्याबिनेटमा प्रदीप ज्ञवाली, महेश बस्नेत, खगराज अधिकारी, विशाल भट्टराई, निरु पाल, नारदमुनी राना, कर्ण थापा, राजेन्द्र राई, राजेन्द्र गौतम, विद्या भट्टराई, पार्वती विशुंखेलगायतको नाम चर्चामा छ ।

महेश बस्नेतले गृहमा दाबी गरेको स्रोतले जानकारी दियो । तर, प्रधानमन्त्री ओलीले दुवै नेतालाई छोडेर खगराज अधिकारीलाई गृहको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्री अ‍ोलीले गृहमा चुनाव गराउन सक्ने नेतालाई जिम्मेवारी दिने तयारी गरेका छन् । प्रधानमन्त्री निकट रहेका महेश बस्नेत विभिन्न समयमा विवादित बनेपछि उनलाई गृहबाहेकको मन्त्रालय दिने तयारी भएको बुझिएको छ । तर, बस्नेतले आफूले गृह पाउनुपर्ने भन्दै अडान लिएका छन् ।

पूर्वमाओवादीका नेताको भने नाम टुंगो लागिनसकेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले पूर्वमाओवादीको नाम टुंगो लगाउन रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई जिम्मा दिएका छन् ।

गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिमण्डल पुर्नगठन गरेका थिए । उनले जसपाका राजेन्द्र महतोसहित १० जना र एमालेका दुई जना नेतालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबै मन्त्रीलाई हटाएका थिए ।

प्रधानमन्त्री ओलीले प्रदीप ज्ञवाली, हृदेश त्रिपाठी, प्रेम आले, जुली महतो, शिवमाया तुम्बाहाम्फेलाई हटाएका थिए । उनले परराष्ट्रमा रघुवीर महासेठ र स्वास्थ्यमा शेरबहादुर तामाङलाई ल्याएका छन् ।