
प्रधानमन्त्री केपी शर्मा ओली जन्मदिन मनाउन जन्मस्थान तेह्रथुमकाे आठराइ गाउँपालिका जाने भएका छन्।
आज प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमकाे आठराईमा भएको हो। २००८ सालमा आठराइमा जन्मेका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापामा बसाई सरेको थियो।
गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय बिदा दिने निर्णय गरिएको जनाएको छ ।
प्रधानमन्त्रीको जन्मदिन मनाउनका लागि जन्मस्थान आठराईमा विशेष कार्यक्रम गर्न लागिएको छ।

यसै अवसरमा उहाँले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । यस्तै जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।