
बिहीबार राति कैलालीको धनगढी बसपार्कमा मृत फेला परेका युवकको पैसा लुट्नकै लागि हत्या गरिएको बुझिन आएको छ । अन्दाजी २७÷२८ बर्षका ती युवालाई चार जना युवकले कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुका अनुसार कुटपिट गर्ने चारै जना गाडीका सहचालक रहेको खुलेको जनाएको छ । मृतक र उनीहरुबीच चिजानभने नरहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्रसिंह गुरुले बताए । मृतकको खल्तीमा भएको ३४० रुपैयाँ लुटेर गएका उनीहरु पुनः थप पैँसा हुनसक्ने भन्दै फिर्ता आएर कुटपिट गरेको भन्ने खुलेको छ।
४ जना युवकको समूहले पालैपालो उनीमाथि कुटपिट गरेको र उनी बेहोस भएपछि छोडेर त्यहाँबाट युवकहरु भागेको फुटेजमा देखिएको छ। ‘दुई जनाले ४० र अन्य दुई जनाले तीन सय गरी तीन सय ४० रुपैयाँ लुटेर कुटपिट गर्दै हत्या गरेको देखिन्छ, प्रहरी निरिक्षक गुरुले भने,‘उनी पल्टेको मौका छोपेर खल्तीमा भएको रुपैयाँ लुटेको पाइयो । जुन कुरा प्रारम्भिक अनुसन्धानमा अभियुक्तले पनि स्वीकार गरेको अवस्था छ ।’
कुटपिटमा संलग्न चारै जनालाई प्रहरीले शुक्रबार साँझ नै पक्राउ गरिसकेको छ । धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वीचौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाही छन् ।
प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । मृतक युवकको पहिचान भने भएको छैन । प्रहरीले सेती प्रादेशिक अस्पतालमा राखेको शवको धनगढी उपमहानगरपालिकासँगको समन्वयमा अन्तिम संस्कार गरिसकेको छ ।
