१३ बैशाख २०८१, बिहीबार

जहिल्यै विवादमा महाकाली अस्पताल

mahakali hospital pt2021 06 02 09 29 27

गत वर्ष कोरोना संक्रमण सुरु भएपछि महाकाली अस्पतालले दुई वटा भेन्टिलेटर खरिद गर्‍यो । आपूर्तिकर्ता कम्पनीले पुराना भेन्टिलेटर उपलब्ध गराएपछि केही दिन विवाद भयो । अस्पताल विकास समितिले समेत भेन्टिलेटर खरिदबारे आपत्ति जनायो । पछि छानबिन समिति गठन भएर भेन्टिलेटर खरिद प्रक्रिया नै रद्द भयो ।

त्यसअघि पनि भिडियो एक्सरे मेसिन खरिद गर्दा ठूलै विवाद भयो । मेसिन खरिद भयो, तर प्रयोगै नगरी अस्पतालको एक कोठामा थन्क्याइयो । लामो समयसम्म प्रयोगमा नआउँदा मेसिनका तारहरू मुसाले काटेर बिग्रियो । गत वर्ष पनि अस्पतालको चमेना गृह सस्तो दरमा भाडामा दिएको भन्दै विरोध भएको थियो । स्थानीयको विरोधपछि अस्पताल विकास समितिले चमेना गृह भाडामा दिने निर्णय रद्द गरेको थियो ।

यसअघि पनि यहाँ आउने चिकित्सकका विषयमा बेलाबेलामा विभिन्न विवाद नभएका होइनन् । उपचारका क्रममा हुने विभिन्न घटनालाई लिएर चिकित्सकलाई नै बदनाम गराउने तथा हातपात गर्नेलगायत घटनाले पछिल्लो समय यहाँ कोही पनि दक्ष चिकित्सक आउन रुचाउँदैनन् । कुनै उपकरण खरिद होस् वा चिकित्सक ल्याउने विषय जहिल्यै विवाद भइरहने महाकाली अस्पतालमा पछिल्लो पटकअक्सिजन प्लान्ट निर्माणको विषयमा पनि निकै विवाद चर्किएको छ ।

सर्वसाधारणले सामाजिक सञ्जालमा कमिसनको खेल हुँदा बढी मूल्यमा प्लान्ट उपलब्ध गराउनेको टेन्डर स्वीकृत गर्न लागेको भन्दै चर्को विरोध गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयबाट वैशाख अन्तिममा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम निकासा भएको थियो ।

जेठ ५ मा अस्पतालले प्लान्ट खरिदका लागि टेन्डर आह्वान गरेको हो । तीन वटा सप्लायर्स कम्पनीले टेन्डर हालेका थिए । जसमध्ये स्नेहा सप एन्ड केमिकल्स इन्डस्ट्रिजले १ करोड ८० लाख, बीआरटी इन्टरनेसनलले २ करोड ८० र टेक्निकल एसोसिएट्स सर्भिसेजले ३ करोड २० लाखमा प्लान्ट उपलब्ध गराउन सक्ने भन्दै टेन्डर हालेका थिए ।

स्थानीयले १ करोड २० लाखमा प्लान्ट उपलब्ध गराउनेलाई स्वीकृत नगरेर कमिसनको खेलमा ३ करोड २० लाखमा उपलब्ध गराउनेलाई स्वीकृत गराउन खोजेको आरोप लगाएका छन् । तर, अस्पताल प्रशसनले भने कम मूल्यमा उपलब्ध गराउन टेन्डर हालेको फर्मका सबै प्रमाण नपुगेको र प्लान्ट दिने समय पनि यकिन नभएको दाबी गरेको छ ।

‘हामीले माग गरेर मापदण्डअनुसारको प्लान्ट पनि उल्लेख छैन, फेरि कतै ६० दिनमा दिने भनेको छ, कतै ४० दिनमा कसरी विश्वास गर्ने,’ अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले भने, ‘प्लान्ट पनि काठमाडौं सम्म मात्रै पुर्‍याउने भनिएको छ ।’

उनले बढी अंक कबोल गर्ने फर्मले पनि ६ महिनामा उपलब्ध गराउने भनेकाले टेन्डर नै रद्द गर्नुपर्ने अवस्था आएको बताए । ‘पैसाको कुरा मात्रै बाहिर गयो, तर प्रक्रिया पूरा भएको छ कि छैन, मापदण्ड अनुसारको सामग्री उपलब्ध गराउन सक्छ कि सक्दैन त्यसतर्फ कसैको ध्यान गएन,’ डा. श्रेष्ठले भने, ‘हामीले ६० घनमिटर (प्रतिदिन २ सय सिलिन्डर अक्सिजन भर्न सक्ने) को प्लान्ट एक महिनाभित्र उपलब्ध गराउने सर्त राखेका छौं, त्यो कसैले पनि पूरा गर्न सक्ने देखिएन ।’ उनले स्नेहा सप एण्ड केमिकल्सका सबै प्रमाण नपुगेको बताए । तर, स्नेहा सप एन्ड केमिकल्सका प्रबन्धक पीताम्बर जोशी भने अस्पतालले तोकेको मापदण्ड अनुसारकै प्लान्ट ल्याउन न्यूनतम मूल्यमा टेन्डर हालेको बताउँछन् । उनले टेन्डरका लागि सबै प्रमाण पेस गरेको दाबी गरेका छन् । ‘यो सब कमिसनको खेल हो, मिलेमतोमा बढी मूल्यमा प्लान्ट ल्याउनेको टेन्डर स्वीकृत गर्न खोजेको छ,’ उनले भने, ‘कमिसन होइन भने टेन्डर त घटाघटीमा स्वीकृत गर्नुपर्ने हो ।’

महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी प्लान्ट खरिद प्रक्रिया नै रद्द भएको बताउँछन् । उनले टेन्डरमा देखिएको विवादसँगै यूएनडीपीको सहयोगमा अक्सिजन प्लान्ट जडान हुने भएपछि अहिले टेन्डर प्रक्रिया नै रद्द गरिएको बताए । ‘कसैले ६ महिनामा दिन्छु भने, कसैको प्रमाण पुगेन,’ उनले भने, ‘यूएनडीपीको सहयोगमा दुई महिनामा प्लान्ट जडान हुने भएको छ, अब प्लान्ट जडानका लागि आएको बजेट अन्यत्र खर्च गर्न पहल गरिरहेका छौं ।’ उनले अस्पताललाई बदनाम गराउन र यहाँ कार्यरत चिकित्सकहरूलाई विभिन्न आरोप लगाएर धपाउन खोज्नेहरू अनेक विवाद झिकिरहेको आरोप लगाए ।