१३ बैशाख २०८१, बिहीबार

उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा खुकुलो पार्ने तयारी

lockdown111619756238 768
फाइल फोटो

काठमाडौं उपत्यकामा कडाइपूर्वक लागू गरिएको निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ।  मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उहाँले बताउनुभयो ।

अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका छन् ।

‘अझै कोरोना जोखिम छ, ’ उहाँले भन्नुभयो, ‘संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिएपनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, निर्णय भने बैठकमार्फत नै गरिनुपर्छ।’

मंगलबारको बैठकमा पछिल्लो पटक लगाइएको निषेधाज्ञाको समीक्षा गर्दै निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो र व्यवस्थित गर्नेबारे छलफल हुने जानकारी दिए ।

तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको बैठकले गत शनिबार १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो।

पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्धले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।

कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ । तर कतिपयले परीक्षण नै कम भएकाले संक्रमितको संख्या पनि कम भएको बताउने गरेका छन् ।

अहिले खाद्यान्न पसल समेत खोल्न दिइएको छैन। सार्वजनिक र इन्टरनेट सेवा प्रदायकको गाडी समेत दिउँसोको समयमा चलाउन रोक लगाएको छ। जारी निषेधाज्ञा २० गते सकिँदैछ।