८ बैशाख २०८१, शनिबार

मन्त्री यादवको संयोजकत्वमा अक्सीजन ग्यास अनुगमन व्यवस्थापन समिति

IMG 20210518 152424 750x375 1

प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा सबै भन्दा महत्वपूर्ण रहेको अक्सीजन ग्यासको आभाव हुन नदिन आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सीजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।

आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले पछिल्लो समयमा प्रदेश भित्र रहेका अक्सीजन प्लान्टहरु बाट बाहिर ग्यास पठाएको हुँदा प्रदेशमा अक्सीजन ग्यासको आभाव देखिएकोले उक्त समस्या समाधान गर्न मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरि समिति गठन गर्ने निर्णय गरेको छ। उक्त समितिले प्रदेश भित्रका अक्सीजन उद्योगहरु बाट दैनिक उत्पादन हुने संख्या र वितरण प्रणालीको अनुमन गर्ने छन । त्यसैगरि बैठकले कोरोना संक्रमितहरुको उपचार भै रहेको प्रदेश भित्रका सरकारी तथा नीजि अस्पतालहरुको अनुगमनका लागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा विज्ञ समूह गठन समेत गरेको छ । उक्त समितिले प्रदेश भित्रका अस्पतालहरुको अनुगमन निरीक्षण गर्नुका साथै अस्पतालहरुलाई दिनु पर्ने सुविधाका सम्बन्धमा प्रदेश सरकारले सुझाव दिने । आवश्यकता अनुसार निजी अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारको व्यवस्था मिलाउनका लागी आइएमओ गर्न प्रदेश सरकारमा सिफारिस गर्ने क्षेत्राधिकार दिइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा , मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल शाह , नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी , नेपाल प्रहरीका डिआइजी धिरज प्रताप सिंह, शसस्त्र प्रहरीका डिआजी चन्द्र प्रकाश गौतम , अनुसन्धान निर्देशक हरिहर पौडेल सहितको उपस्थिति रहेको थियो ।