१५ चैत्र २०८०, बिहीबार

रुबी राणाको चित्त दुखाई : ऐश्वर्यले ऐश्वर्यलाई मात्र भेटिन्, मैले आफ्नो रानी भेट्न पाइन

rubi

सन् १९९४ मा पहिलोपटक भएको मिस नेपाल प्रतियोगितामा वीरगञ्जकी रुबी राणाले उपाधि जितिन् । पहिलो प्रतियोगिताको फाइनलमा उनले २१ प्रतिस्पर्धिलाई उछिनेकी थिइन् । वि.स. २०५१ (सन् १९९४)मा मिस नेपाल बनेकी रुबी नेपालकी प्रथम मिस नेपाल हुन् ।

मिस नेपालले यो लामो यात्रा तय गरिरहँदा आज मिस नेपालकी सुन्दरीहरु ‘मिस वर्ल्ड’, ‘मिस युनिभर्स’ जस्ता अन्तर्राष्ट्रिय मन्चका कारण विश्वभरबाट माया र सम्मान पाउन थालेका छन् । 

रुबी राणाले मिस नेपालको यात्रा सुरु गर्दा नेपालको पहिचान दुर्लभ नै थियो । नेपालामा पहिलो मिसा नेपाल प्रतियोगीता हुँदा छिमेकी भारतले मिस वर्ल्डको ताज जितिसकेको थियो । त्यसैले त होला उनले आफ्नै देशबाट पनि सोचेको जस्तो माया र सम्मान पाउन नसकेको गुनासो बेलाबेलामा गर्ने गरेकी छिन् ।

हालै उनले २७ वर्ष अघिको आफूले भोग्नु परेको एउटा नमिठो घटना सेयर गरेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा मिस वल्र्ड १९९५ ऐश्वर्या राय बच्चन, नेपालका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीसँगको आफ्नो एउटा फोटो सेयर गरेकी छिन् ।

यसरी २७ वर्षदेखि मनमा खड्किरहेको घटनालाई रुबी राणा शाहले आफ्नो फेसबुक वालामा पोस्ट गरिन् ।

186551459 10223077100450145 7805154599968694042 n

यो तस्बिर सन् १९९५ को हो । पेप्सीकोला हिरक साँझ १९९५ दौरानको घटना फेरि मेरो मानसपटलमा ताजा भएर आयो ।
यो तस्बिर त्यति बेलाका सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यू, विश्व सुन्दरी एश्वर्या राय पेप्सीकोलाकी ब्रान्ड एम्बेस्डर र म, प्रथम नेपाल सुन्दरी रुबी राणाको हो ।
त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी ऐश्वर्या रायको बडा महारानी ऐश्वर्य राज्यलक्ष्मी शाहसँगको दरबारमा दर्शनभेटको कार्यक्रम तय भएको थियो । एकदमै खुशी लागेको थियो, रानीसँग भेट्न र कुराकानी गर्न ।

तर एक्कासि मलाई आयोजकबाट, ‘तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने’ खबर आएपछि मनै खिन्न बनायो । म असमन्जसमा परेँ । ‘किन र?’ यही प्रश्न थियो मेरो । ‘खै थाहा भएन’, भन्दा मलाई साह्रै दुःख लाग्यो ।

‘किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने ?’ मनमनै खिन्न भावनाले मलाई खाँदै थियो । वीरगन्ज सहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनकजंग बहादुर राणा र कमलादेवी राणाको पक्कै पनि प्रिन्सेस थिएँ म । र नेपालको प्रथम नेपाल सुन्दरी । किन दर्शन दिन खोजिबक्सिएन रहस्य नै रहने भो मनमा ।

अथवा राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो कि ?

मलाई त मेरो रानीलाई साक्षात दर्शन गर्नुथियो । ‘उकाली ओराली’गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो । रानीको भुक्क फुलेको देवीको जस्तै केशसज्जा हेर्ने धोको थियो ।

काँधमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो । कमल कोपिलाजस्तो हातमा काचका चुराहरू खन्केको आवाज सुन्नु थियो । जति मैले मेरो रानीलाई चिनेको थिएँ विश्व सुन्दरीले के चिनेकी थिई होला । मलाई किन भेट नदिइबक्सेको होला ? हो पाहुना ईश्वर हुन्, मान्दछु, । र म को ? म त आफ्नै देशको चेलीबेटी , छोरी । मलाई अपहेलित गरे जस्तो भावना लाग्यो ।

माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो हीन भावनाले मलाई मेरो ताजको महत्व र चमक धमिलो लाग्न थाल्यो । मनमा अनेकौं प्रश्नले जालो बुन्दै जाँदा आँखाबाट आँसुका धारले रानीप्रतिको मायालाई पखाल्दै गयो ।

मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपनालाई त्यागेँ । हुन सक्छ, यो मेरो मनको वह मात्र हो । यही दृढ़ संकल्पका साथ म आफँै खुशी रहेँ । म आफ्नो मनको रानी बन्न सक्छु । मनको रानी, धनको रानी हैन ।

त्यो यही दिनको तस्बिर हो । ऐश्वर्या रायले बडामहारानीलाई भेटेर आएपछि हामी बालुवाटार प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थियाँै ।
कालो चिल्लो मर्सिडिज कारमा विश्व सुन्दरी र नेपाल सुन्दरी चढेर । मलाई सम्झना छ विश्व सुन्दरी अंग्रेजीमा बडा महारानीको खुबै बयान गर्दै थिइन् र म सुनिरहेको थिएँ ,केही नबोली । मेरो मनको पीडा र डाहले मन पोल्दै थियोे । एक शब्द केही नबोली मैले कुनै प्रतिक्रिया जनाइन् । ‘आर यु ओके’ भनेर पनि सोधिन्, विश्व सुन्दरीले ।
मैले मुन्टो मात्र हलाएर जवाफ दिएँ । तर जब मैले प्रधानमन्त्रीज्यू र उहाँको श्रीमतीलाई भेटेँ मेरो मुड एकदमैसित परिवर्तन भो । अति सरल र मिजासिलो । उहाँको श्रीमतीले गरेको आदर सत्कार र कुराकानीले मलाई अति नै प्रफुलित बनायो । अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो ।

उहाँले भन्नुभो , ‘हामी देशबासीहरु एकदमै खुसी छौँ तिमीलाई नेपाल सुन्दरी देख्न पाउँदा । नेपालको यो प्रथम प्रयास हो । निरन्तरता जारी रहोस् ।
पछाडिबाट मधुरो स्वरमा, ‘हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रहिछिन् ’ प्रधानमन्त्रीज्यूको श्रीमतीले भन्नुहुँदा हामी सबै हाँसेका थियाैँ ।

सम्झनाका कुराहरू जुन मैले व्यक्त गरेँ यो एउटा मनमा बिझेको काँडा जस्तो थियो । जुन आज निकालेर हजुरसमक्ष पेस गर्दैछु । र पनि मेरो मनको रानीले बडामहारानी ऐश्वर्यलाई सधैं खोजिरह्यो । भाग्यमा भेट्न थिएन होला र पो भेट भएन भनेर मेरो मनको रानीले मलाई बेला बेला सम्झाउँछे ।