१६ चैत्र २०८०, शुक्रबार

गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन डब्लुएचओको आग्रह

WHO 1

विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् ।

केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप उपलब्ध गराएको बताउँदै अन्य धनी मुलुकले पनि त्यसै गर्ने अपेक्षा डब्लुएचओले गरेको हो । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधनोम धेब्रेयेसुसले जेनेभामा आयोजित एक कार्यक्रममा भने,‘केही धनी मुलुकले बच्चा र वयस्कहरुका लागि सञ्चालन गर्न लागेको खोप अभियान म बुझ्छु तर उनीहरुलाई म त्यो योजना पुर्नविचार गर्न र खोप कोभ्याक्सलाई दिन आग्रह गर्दछु ।’

कोभ्याक्स मार्फत निम्न आय भएका मुलुकहरुलाई खोप वितरण गर्ने गरिन्छ । अहिले ठूला मुलुकले कोभ्याक्सलाई खोप प्रदान नगर्दा साना र गरिब मुलुकमा कोरोनाको संख्या बढेको छ तर खोप छैन । कोभ्याक्सले अहिलेसम्म ६ करोड खोप मात्रै वितरण गरेको छ । भारतले कोभ्याक्सलाई दिनुपर्ने खोप नदिएको र अन्य मुलुकले पनि आवश्यक मात्रामा उपलब्ध नगराएको कोभ्याक्स प्रभावित भएको छ । विश्व स्वास्थ्य संगठनमा अहिलेसम्म निम्न आय भएका मुलुकमा कुल उत्पादन भएको खोपमध्ये ०.३ प्रतिशत मात्र पुगेको जनाएको छ । केही सीमित मुलुकहरुले अधिकांश खोप होल्ड गरिरहेका छन् ।

मध्यम र निम्न आय भएका धेरै मुलुकले भ्याक्सिनमा भारतबाट अपेक्षा गरिएको थियो । तर भारतले आफ्नो सम्पूर्ण उत्पादन आन्तरिक प्रयोगमा केन्द्रित गरेपछि धेरै मुलुकमा यतिबेला खोपको चरम अभाव छ । मूल्यको हिसाबले अमेरिका, युरोप र रसियाले उत्पादन गरेको खोपभन्दा भारतीय खोप सस्तो भएका कारण पनि धेरै मुलुकले भारतबाट खोप खरिदको प्रक्रिया अगाडि बढाएका थिए ।