१४ बैशाख २०८१, शुक्रबार

कालापानी क्षेत्रमा सशस्त्रको नियमित गस्ती

kalapani pt2021 05 17 07 25 23

उपल्लो दार्चुलाको अतिक्रमित भूमि कालापानी क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेको छ । चिसो कम भएसँगै सशस्त्रको ५० नम्बर गुल्मले सो क्षेत्रमा गस्ती सुरु गरेको हो । ५० नम्बर गुल्म प्रमुख धीरेन्द्र शाहको नेतृत्वमा शनिबारबाट कौवा र कालापानी क्षेत्रमा गस्ती सुरु भएको हो ।

शनिबार सशस्त्र प्रहरीको टोलीसँगै स्थानीय जनप्रतिनिधिसमेत सहभागी रहेको व्यास गाउँपालिका– १ का वडाध्यक्ष अशोक बोहराले जानकारी दिए । उच्च हिमाली क्षेत्र भएकाले हिउँदमा जमेको हिउँ पग्लिएपछि भारतीय सुरक्षाकर्मीले पनि गस्ती सुरु गरेको छ ।

भारतीय सुरक्षाकर्मीले लिपुखोलापारिको गुञ्जी, कालापानी क्षेत्रमा र नेपालको सशस्त्र प्रहरीले वारि रहेको कौवा, कालापानी क्षेत्रमा गस्ती गर्न थालेको हो । ‘कालापानीभन्दा तीन सय मिटरनजिकसम्ममा हाम्रोे गस्ती हुन्छ,’ गस्तीमा संलग्न एक प्रहरीले भने, ‘नियमित गस्तीकै रूपमा शनिबार पनि भारतीय सुरक्षा पोस्टनजिकै गस्ती गरिएको हो ।’

छाङरुमा रहेको सशस्त्रको गुल्मबाट सातामा एक वा दुईपटक गुञ्जी, कौवा र कालापानी क्षेत्रमा तथा चीनसँग सीमा जोडिएको पिल्लर नं. १ स्थित तिंकर क्षेत्रमा साता वा दुई सातामा एकपटक गस्ती गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सरकारले अतिक्रमित क्षेत्र समेट्दै नक्सा जारी गरेपछि त्यस क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति रहेको हो । छाङरुमा गुल्म बनाएर बसेको सशस्त्रको टोलीले हिउँ पग्लिएपछि केही साताअघिबाट भारत र चीनसँग जोडिएको नेपाली भूभागमा गस्ती सुरु गरेको हो ।

एक वर्षअघि व्यास गाउँपालिका– १ छाङरुमा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा बिओपी स्थापना भएको थियो । त्यसलगत्तै बिओपीलाई ५० नं. गुल्ममा परिणत गरिएको हो । छाङरुपछि कालापानीसँग आमनेसामने हुने गरी दुई किलोमिटर दक्षिण–पश्चिमतर्फ अर्को बिओपी स्थापना गर्न लागिएको सशस्त्र प्रहरी बल दार्चुलाका एसपी नरेन्द्र बमले जानकारी दिए ।

‘स्थानीयको नाममा रहेको जग्गा नामसारीको प्रक्रिया सुरु भएको छ,’ उनले भने, ‘छाङरुमा सशस्त्र प्रहरी गुल्मका लागि बनिरहेको भवन निर्माण भएलगत्तै कौवा क्षेत्रमा बिओपी स्थापना गर्ने तयारी छ ।’ करिब १० करोडको लागतमा छाङरुमा सशस्त्र प्रहरीको ४२ कोठे अत्याधुनिक भवन निर्माण हुँदै छ ।

चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी निर्माण भइरहेको उक्त भवनको काम गत मंसिरमा हिमपात भएपछि ठप्प भएको थियो । त्यसपछि गत चैतबाट पुनः निर्माण सुरु भए पनि कोरोना महामारीका कारण काम केही प्रभावित भएको निर्माणमा संलग्न ठेकेदार कम्पनी ग्वाल्लेक निर्माण सेवाले जनाएको छ ।