१५ बैशाख २०८१, शनिबार

अछाममा जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

Achham Jillaprshan

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि अछाम जिल्लामा जारी निषेधाज्ञा थप १० दिन लम्बिने भएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र अछामको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले थप १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सुरु भई जेठ १२ गते राति १२ बजेसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो । पछिल्लो केही दिन यता जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्नुका साथै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढेपछि निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी मल्लको भनाइ छ ।

निषेधाज्ञा अवधिभर पूर्वनिर्धारित आदेशहरू नै पालना गर्नुपर्नेछ । अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सवारी साधन बन्द हुनुका साथै खाद्य सामग्री, औषधी र स्वास्थ्य सामग्रीका पसल मात्रै तोकिएको समयमा खोल्न पाइनेछ ।

निषेधाज्ञा अवधिभर मेला, सभा, सम्मेलन जस्ता भिडभाड हुने कार्य नगर्ने, विकास निर्माण, सार्वजनिक सेवा प्रदायक संस्था, बिरामी ओसारपसारका लागि एम्बुलेन्स वा गाडी प्रयोग गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य बनाउनु पर्नेछ ।

यस्तै प्रशासनले कोभिड पोजेटिभ भएकालाई अनिवार्य रुपमा होम आइसोलेसनमा बस्न आग्रह गर्नुका साथै अन्य व्यक्तिले अनावश्यक रुपमा घर बाहिर निस्किएको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

यसअघि अछाममा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि यसको रोकथाम र नियन्त्रण गर्न वैशाख १९ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । उक्त जारी गरिएको निषेधाज्ञा आज रातिबाट सकिन लागेको छ भने आज राती देखि नै निषेधाज्ञाको थपिएको अवधि पनि सुरु हुनेछ ।

अछाममा कोरोनाको दोस्रो लहरमा १ हजार ३० जनामा कोरोना पुष्टि हुँदा हाल २ सय ८६ जना महिला र ५ सय २० जना पुरुष गरी ८ सय ६ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लामा पहिलो लहरमा ५ जना र दोस्रो लहरमा १३ जना गरी १७ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।