७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम सरकारप्रति प्रधानमन्त्रीको आक्रोश

oli cm2021 05 16 03 24 18

प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्रीले प्रदेशका नाममा राज्य रजौटाको प्रवृत्ति देखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । मानवीय संकटका बेला एकजुट भएर काम गर्नुपर्नेमा कतिपयले राजनीति गर्न खोजेको ओलीले बताएका छन् ।

बालुवाटारमा भएको सरोकारावालासँगको छलफलमा ओलीले महामारीमा के-कस्ता समस्या देखिएका छन् कसरी समाधान गर्न सकिन्छ भनेर संघ सरकारले सहयोग गर्न खोज्दा त्यसलाई अस्वीकार गरी प्रदेशलाई राज्यरजौटा जसरी चलाउन खोजेको टिप्पणी गरेका हुन् ।

ओलीले सुदूरपश्चिमले संघको सहयोग नलिएकोप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भनिएकोमा आपत्ती जनाएका छन् । स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिंगो स्वास्थ्य प्रणाली नै कोल्याब्स भयो भन्न नमिल्ने तर्क प्रधानमन्त्रीको छ ।

सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै प्रधानमन्त्रीले परीक्षणको व्यवस्था नै नभएको मुलुकमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताए ।

महामारीको पूर्वतयारी कुनै पनि मुलुकमा नहुने भन्दै ओलीले सरकारले कोभिड नियन्त्रणमा प्रभावकारी काम गरेको बताए ।प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मकभन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेका छन् ।