१५ बैशाख २०८१, शनिबार

एमाले विवाद :जेठ २ मा फर्किन ओली सहमत,कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई

yemale meeting nS8kdj5dwO 750x375 1

नेकपा (एमाले)का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएकाे छलफलमा विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने सहमति भएको हो । बैठकपछि नेता भीमबहादुर रावलले एकता कायम राखी दललाई अगाडि बढाउन गम्भीर छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘२०७५ जेठ ३ गतेभन्दा अगाडिको एमालेको स्थितिलाई आधार मानेर अगाडि बढ्ने कुरा भयो ।’

अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको थियो । तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहँनुहुन्न । नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गर्नु भएको थियो ।

बिहीबार मात्र चार नेताको निलम्बन फिर्ता लिएका एमाले अध्यक्ष ओली २ जेठमा फर्किँदा ५ पुसयता आफूले बनाएका सबै कमिटी विघटन गर्र्न तयार हुनुपर्छ । माधव नेपाल समूहले पनि ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनेको छ । २ जेठमा फर्किँदा यो पनि खारेज हुन्छ ।

नेताहरूका अनुसार यसबारे विस्तृतमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन अध्यक्ष ओली तयार भए माथिल्ला कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताउनु भएको छ ।

शुक्रबार साँझ सिंहदरबारमा भएको दुई घण्टा लामो छलफलमा कार्यदलको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिइएको हो । वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल हुनुन्थ्यो । नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बस्नु भएको थियो ।