१४ बैशाख २०८१, शुक्रबार

फोक्सिङटारको बेलिबृज १० जेठबाट खोलिने

beli bridge
फाइल फोटो

खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशी नदिमा अस्थायी रुपमा जडान गरिएको बेलिबृज खोल्ने तयारी गरिएको छ । वर्षायाममा यातायात संञ्चालन नहुने भएपछि बेलिबृज खोल्ने तयारी गरिएको हो ।

गाईघाट–दिक्तेल सडक खण्डको फोक्सिङटारस्थित उदयपुर र खोटाङको सिमानामा सुनकोशी नदिमा अस्थायी रुपमा जडान गरिएको बेलिबृज १० जेठदेखि फुकाल्न शुरु गरिने गाईघाट–दिक्तेल सडक योजना उदयपुरले जनाएको छ । गतवर्ष मंसिर २७ गते सडक विभागको ८४ लाख बजेटमा रेग्मी निर्माण सेवाले जडान गरेको बेलिबृज सोही कम्पनीले फुकाल्ने छ ।

सडक विभागले वर्षै पिच्छे साउन भदौमा टेण्डर आव्हान गरेर बेलिबृज जडान गर्ने र खोल्ने गर्दै आएको छ । यसरी बेलिबृज लगाउने र फुकाल्ने गर्दा राज्यको करोडौ रकम खर्च भईरहेको छ । गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गत उदयपुर र खोटाङको सिमानामा सुनकोशी नदिमा सडक विभागको १९ करोड ६० लाख ९ हजार ९४१ रुपैयाँ लगानीमा पार्वती–वाईपी जेभिले आर्च ब्रिज डिजाइनको मोटरेबल पुल निर्माणमा चरम लापारवाही गरेर पुल नबन्दा नदिमा पानी घटेसँगै बेलिबृज लगाउने र फुकाल्न गरिएको छ ।

बेलिबृज फुकाल्ने भएपछि देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभि र भारत कन्ट्रक्सन-सिद्धिसाई जेभिलाई आवश्यक निर्माण सामग्रीहरु भण्डारण गर्न भनिएको योजना प्रमुख ईन्जिनियर गोपाल प्रसाद खकुरेलले बताए ।

देवनारायण पवन-मैनाचुली-खाम्पाचेले गाईघाट–दिक्तेल सकडखण्ड अन्तर्गत खोटाङतर्फ राजापानीको सिमपानीदेखी फोक्सिङटारसम्म २६ किलोमिटर र भारत कन्ट्रक्सन-सिद्धिसाईले गाईघाट–दिक्तेल सकड खण्डको महुरे–राजापानी (सिमपानी) २२ किलोमिटर सडक कालोपत्रेको काम गरिरहेको छ । दुबै खण्डमा कालोपत्रेको काम पनि गुणस्तरहिन र चरम ढिलासुस्ती छ । काम नगरेपछि भारत कन्ट्रक्सन-सिद्धिसाई जेभीको साढे ६ करोड बैंक धरौटी तानिएको छ ।