१६ चैत्र २०८०, शुक्रबार

समयमै उपचार नपाउँदा ज्यान गुमाउँदै सङ्क्रमित

corona hospital
सांकेतिक तस्विर

शरीरमा अक्सिजनको कमी भएको समयमै थाहा नपाउँदा र समयमा नै अस्पतालमा गएर उपचार नगराउँदा म्याग्दीमा ज्यान गुमाउनेहरुको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो एक सातायता म्याग्दीमा कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको बेनी अस्पतालले जनाएको छ ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलका अनुसार कोरोनाको दोस्रो लहरसँगै बेनी अस्पतालमा उपचारका लागि आउने कोरोना सङ्क्रमितमध्ये अधिकांशको अवस्था चिन्ताजनक हुने गरेको र उनीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेको हुने भएकाले उपचारमा समस्या हुने गरेको छ ।

अस्पतालमा समयमा नै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्चार्ज गरिएको डा कँडेलको भनाइ छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा कँडेल बताउनुहुन्छ ।

होम आइसोलेशनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटरले जाँच गर्नुपर्ने डा कँडेलको सुझाव छ । घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासि श्वासप्रश्वासको समस्या देखिने जस्ता समस्या देखिएमा तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने उहाँले बताउनुभयो ।

बुधबार बेनी अस्पतालमा मृत्यु भएका बेनी नगरपालिका–५ का ४१ वर्षीय पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि मङ्गलबार राति उपचारका लागि अस्पतालमा ल्याइएको थियो । हाइफ्लो अक्सिजन दिएर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमणले सिकिस्त भएर अन्तिम अवस्थामा अस्पतालमा उपचार गर्न आएकाले बचाउन अनेक प्रयास गर्दा पनि नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । हिजो बुधबार मात्र म्याग्दीका तीन कोरोना सङ्क्रमितको निधन भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार साँझसम्म बेनी अस्पतालमा कोरोना पुष्टि भएका नौ जनाको मृत्यु भएको छ । त्यसैगरी जिल्लामा बिरामी भई थप उपचारका लागि काठमाडौँ र पोखरा गएका कोरोना सङ्क्रमित पाँच र म्याग्दी स्थायी ठेगाना भई काठमाडौँ र पोखरालगायतका शहरमा बसोबास गर्ने पाँच गरी वैशाख महिनामै १९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।