१४ बैशाख २०८१, शुक्रबार

एमालेबाट राजीनामा दिने सांसदहरुलाई उपनिर्वाचनमा जिताउन कांग्रेस-माओवादीले सहयोग गर्ने

Deuba Prachand Madhav Nepal

राजीनामा दिने नेकपा एमालेका सांसदहरूलाई उपनिर्वाचन जिताउने नेपाली कांग्रेसले प्रस्ताव गरेको छ । नयाँ सरकारको नेतृत्व लिन अग्रसर सभापति शेरबहादुर देउवालाई गठनबन्धन सरकारको प्रधानमन्त्री बनाउन सक्रिय नेताहरूले एमालेको माधव नेपाल पक्षका नेताहरुसँग यस्तो प्रस्ताव गरेका हुन् ।

संसदको अंकगणितमा माओवादी केन्द्र र जसपा (उपेन्द्र पक्ष) को समर्थन पाइसकेको कांग्रेसले माधव पक्षका सांसदहरुले राजीनामा दिए बहुमत पुग्ने निष्कर्ष निकालेको छ ।

केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भवना रोक्न माधव पक्षका सांसदहरू राजीनामा दिन तयार छन् यद्यपि संख्या यकिन भइसकेको छैन । कांग्रेसले माधव पक्षका २० जना प्रत्यक्ष निर्वाचित सांसदहरूले राजीनामा दिने अपेक्षा गरेको छ । रिक्त रहने सांसद पदमा ६ महिनाभित्र उपनिर्वाचन हुने संवैधानिक प्रावधान रहेको छ ।

कांग्रेसबाट वार्तामा सहभागी एक नेताका अनुसार माधव नेपाल र भीम रावलले जति सांसदले राजीनामा दिँदा ओलीको सम्भावना टर्छ त्यति जनाको राजीनामा गराउने वचन दिएका छन् ।

कांग्रेस सभापति देउवाले मंगलबार बेलुकी नेपाल र रावलसँग निवासमै छलफल गरेका थिए । सोही छलफलमा सभापति देउवाले आफूलाई सहयोग गर्ने एमाले सांसदहरुलाई उपनिर्वाचनमा सहयोग गर्ने वचन दिएका हुन् ।

सामूहिक राजीनामा दिने विषयमा माधव पक्षमै सहमति जुटिसकेको छैन । अधिकांश सांसदले पद र पार्टी दुवै त्यागेर राजनीतिक कसरी जोगाउने ?भनी प्रश्न गर्दै आएका छन् । यहीकारण उपनिर्वाचनमा एमालेको ओलीपक्षका उम्मेदवारविरुद्ध कांग्रेस र माओवादीले माधव पक्षका उम्मेदवारलाई सहयोग गर्ने गरी सहमति जुटाउन खोजिएको हो ।

यसरी माधव पक्षले सहयोग गर्‍यो भने महन्थ ठाकुरहरूले समर्थन नगरेको अवस्थामा पनि देउवालाई बहुमत पुग्ने देखिन्छ । त्यसका लागि माधव पक्षले एमालेबाट राजीनामा दिएर सांसदको संख्या घटाउनु पर्दछ ।