१६ चैत्र २०८०, शुक्रबार

मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधि चढ्ने गाडीमा अब कोरोना सङ्क्रमित बोक्दै

bilasi gadi

मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाका जनप्रतिनिधिले यसअगावै प्रयोग गर्दै आएको सवारी साधनमा समेत अब कोरोना सङ्क्रमितका बिरामीलाई निःशुल्क बोक्न थालिएको छ । गाउँपालिकामा जनप्रतिनिधिले प्रयोग गर्दे आएको बा१झ ९२०४ नंको सवारी साधन अबदेखि कोरोना सङ्क्रमित बिरामीलाई निःशुल्करूपमा अस्पताल लैजाने तथा ल्याउने काममा प्रयोग थालिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिका क्षेत्रमा यातायातको असुविधालाई मध्यनजर गर्दै कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सवारी साधन प्रयोगमा ल्याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो । जनप्रतिनिधिले प्रयोग गर्ने एउटा सवारी साधन र वडा नं २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्यचौकीको एम्बुलेन्ससमेत निःशुल्क कोरोना सङ्क्रमितलाई लैजान र ल्याउन प्रयोग गरिएको उल्लेख छ ।

त्यसैगरी मकवानपुर जिल्लाको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी पनि कोरोना सङ्क्रमणको अवधिभर कोभिड–१९ का बिरामीको उपचारमा प्रयोग गर्न थालिएको छ । बा२झ १२५९ नंको गाडी सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्था लैजान र ल्याउनका लागि प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पुरीले जानकारी दिनुभयो ।